गुण्डागर्दी शैलीमा यसरी झम्टिए वडा अध्यक्षले जिसस प्रमुख नेपाललाई



धादिङ : धादिङको नीलकण्ठ नगरपालिका–१ का वडाअध्यक्ष गणेश गुरुङ र उनका सहयोगी ध्वजबहादुर गुरुङले जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाललाई कुटपिट गरेका छन् । स्थानीय सरकारका निर्वाचित जनप्रतिनिधि नै यसरी गुणगर्दीमा उत्रिएपछि जनतामा यसले नराम्रो मनोवैज्ञानिक असर पारेको छ ।

जिसस प्रमुख नेपाल कार्यकक्षबाट बाहिरिदै गर्दा जिसस हाताभित्रै उनीमाथि आक्रमण गर्ने दुवैजना एउटै मोटरसाइकलमा त्यहाँ पुगेका थिए । मोटरसाइकल रोकिनासाथ एक्कासी दुवैजना आक्रमणमा उत्रिएपछि जिसस प्रमुख नेपालले चिच्याएर हारगुहार मागेका थिए ।

हारगुहार मागे लगत्तै ती दुवै मोटरसाइकलमा चढेर भागेका थिए । घटनालगत्तै जिसस प्रमुख नेपालले निर्वाचित वडाअध्यक्ष नै गुण्डगर्दीको शैलीमा प्रस्तुत भई आफूमाथि कुटपिट गरेकाले उनलाई सजायको भागिदार बनाउनु पर्ने माग गरेका थिए ।

घटनाको पृष्ठभूमि कोट्याउँदै जिसस प्रमुख नेपालले भने ‘जिल्ला समन्वय समितले स्थानीय सरकारको भौतिक संरचना निर्माणअन्तर्गत आवश्यक रकम उपलब्ध गराइसकेको बरु वडा कार्यालयका लागि भवन कहाँ निर्माण गर्ने भन्ने छलफल हुँदा केही विवाद निम्तिएको थियो ।’ उनका अनुसार छलफल गर्न बाँकी नै थियो, तर वडाध्यक्ष स्वयम् गुण्डागर्दीमा उत्रिए ।

आफ्ना सहयोगी साथमा जिसस प्रमुख नभएका भए घटना गम्भीर पनि हुनसक्ने भन्दै उक्त घटना योजनावद्ध रुपमा भएको हुनाले निज आक्रमणकर्तालाई कारवाही गर्न-गराउन शनिबार विहान युवासंघ नेपालले नेकपा जिल्ला अध्यक्ष नेत्र पौडेलमार्फत पार्टी कार्यालयलाई ज्ञापन पत्रसमेत बुझाइसकेको छ ।

हाल सामान्य अवस्थामा रहेका नेपालले उक्त घटनाबारे प्रहरीलाई मौखिक जानकारी पनि गराइसकेका छन् । उक्त जानकारीअनुसार जिल्ला प्रहरी कार्यालयले आक्रमणकर्ताहरुको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्