‘जानी नजानी प्रेमकथाको मियो’



काठमाडौं: फिल्म ‘जानी नजानी’को पहिलो गीत ‘एउटीलाई मुटुमा घर’ सार्वजनिक भएको छ। आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने फिल्मको गीतमा अम्बिका शर्माको शब्द तथा अर्जुन पोखरेलको स्वर र संगीत छ। अर्जुनलाई स्वरमा गायिका दुर्गा खरेलले साथ दिएकी छन् ।

 

गीतमा नायक मनिष श्रेष्ठ र नायिका सुमी मोक्तानसहित कोरस फिचर्ड छन्। कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा फिल्मकी ‘डेब्यु’ गर्ल निरिशा बस्नेतलाई पनि देख्न सकिन्छ।  रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् ।

 

राजधानीमा बिहीबार आयोजित कार्यक्रममा प्रस्तुतकर्ता केसीले आफ्नो पहिलो फिल्म ‘डाक्टर खाते’ मार्फत धेरै कुरा सिकेकाले ‘जानी नजानी’ निर्माणमा कुनै सम्झौता नगरेको बताइन्।। ‘यसपटकले माया प्रेमकै कथामा फिल्म निर्माण गरेकी छु। फिल्मको छायांकन नेपालसहित भारतको मनालीमा पनि गरिएको छ’, उनले भनिन्, ‘फिल्मले दर्शकले छुट्याएर हलसम्म गएको समयको सदुपयोग नै गर्छ। फिल्म हेरुन्जेल दर्शकले अल्छीपनको अनुभव गर्दैनन्।’

 

नायक मनिषले फिल्मले युवापुस्ताको कथालाई उठान गरेको बताए। ‘फिल्मले दर्शकलाई भरपुर मनोरञ्जनसँगै दायित्वबोध पनि गराउँछ। फिल्ममा फरक प्रस्तुतिकरणमा माया देखाइएको छ’, मनिषले भने। नवनायिका निरिशाले अभिनयमा आउने इच्छालाई ‘जानी नजानी’ले पुरा गरेको बताइन्। उनले एउटी प्रेमिकाले गर्ने हरेक क्रियाकलाप फिल्ममा गरेको खुलाइन्। त्यस्तै नायिका सुमीले फिल्मको गीतका लागि चार रात काम गरेको स्मरण गरिन् ।

 

निर्देशक बसन्त अधिकारीले दर्जनौं फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरिसकेपछि फिल्म ‘जानी नजानी’लाई निर्देशन गर्ने सही समय पाएको बताए। ‘फिल्म हामीले आँखालाई नबिझ्ने किसिमले तयार परेको हौं। माया र मित्रताबीचको भ्रमबाट पनि दर्शक मुक्त हुनुहुनेछ’, उनले भने।

 

फिल्मका लेखक सामिप्यराज तिमिल्सेनाले फिल्ममा प्रेमकथा मियोको रूपमा रहेको खुलाए। ‘यसको दायाबायाँ राष्ट्रियता र युवापुस्ताले लिनुपर्ने जिम्मेवारीका कुरा पनि छन्’, सामिप्यले भने, ‘फिल्मले व्यापार व्यवसायमा नयाँ पुस्ताको सोचलाई पनि प्रतिबिम्बित गर्ने प्रयास गरेको छ।’ नागरिकबाट

प्रतिक्रिया दिनुहोस्