आफ्नै घरमा बसेर घरभाडा लिने सांसद भन्छन्- थाहै नदिई पैसा पठाए



जनकपुरधाम:  प्रदेश राजधानीमै घर भएर पनि प्रदेशसभा सचिवालयबाट घरभाडा लिइरहेका सांसदहरूले नियमविपरित निकासा भएको रकम फिर्ता हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव पनि त्यस्तै सांसदमध्येका एक हुन् ।

 

उनी भन्छन्, ‘प्रदेशसभा सचिवालयमा मैले बुझाएको सम्पत्ति विवरणमा स्पष्ट उल्लेख छ कि मेरो घर जनकपुरमा छ। घरभाडावापत पैसा पठाउनुअघि सचिवालयले कहिल्यै सोधेन कि जनकपुरमा बस्न मैले निजी घर प्रयोग गरेको हो कि भाडाको। तलब, भत्ता, स्वकीय सचिवालयको खर्चसँगै घरभाडावापतको रकमसमेत एकमुष्ठ पठाइदिएपछि हामीले थाहै पाउन सकेनौं। यदि नियमविपरीत मलाई सुविधा दिइरहेको छ भने त्यो रोकिनुपर्‍यो।’

 

संसदीय दलका नेताको हैसियतले उनी घरभाडावापत मासिक १८ हजार रुपैयाँ प्रदेशसभा सचिवालयबाट बुझिरहेका छन्। प्रदेशसभा सचिवालयले विपक्षी दलका नेता र सत्तापक्षका प्रमुख सचेतकलाई घरभाड वापत मासिक २० हजार, विपक्षी दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूलाई मासिक १८ हजार, दलका प्रमुख सचेतक र सचेतकहरूलाई मासिक १६ हजार तथा अन्य सांसदहरूलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइरहेको छ।

 

जनआफ्नै नाउँमा रहेको आलिशान महलमा बस्ने नेकपा सांसद किशोरी साहले पनि घरभाडा वापत मासिक १५ हजार रुपैयाँ बुझिरहेका छन्। आफ्नै घरमा बसिरहेपनि प्रदेशसभा सचिवालयबाट आपूmले घरभाडावापतको रकम पाइरहेको पनि उनलाई थाहा छ। तर, आफ्नै घरमा बसेर पनि घरभाडावापतको रकम बुझ्ने अन्य सांसदले केही नबोलेपछि आफु पनि चुपचाप सुविधा बुझिरहेको उनी बताउँछन्। ‘तर, अब बस्ने प्रदेशसभा बैठकमा यसवारे कुरा उठाउँछु,’ उनले थपे, ‘जनकपुरमै घर हुने सांसदलाई घरभाडावापत सुविधा दिनु गलत हो।’

 

‘मैले तलब, भत्ता र घरभाडा वापत आउने रकम पनि समाज सेवामै लगानी गरिरहेको छु। आजसम्म तलबवापतको एक रुपैयाँ पनि व्यक्तिगत काममा खर्च गरेको छुइन’ सांसद साहले नागरिकसँग भने, ‘अन्य सांसदहरूले त त्यसरी लिएको रकम पनि आफै उपभोग गर्छन्।’ साहले आफ्नै घरमा बस्ने सांसदलाई घरभाडा उपलब्ध गराउन नहुने बताएका छन्।

 

नेकपाकै अर्का सांसद रामचन्द्र मण्डलले भने घरभाडा वापतको रकम प्रदेश राजधानीमा घर हुँदैमा लिन नहुने तर्क गलत भएको टिप्पणी गरे। ‘प्रदेश सरकारले माथि संघीय सरकार र तल स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने कानुनी प्रावधान छ,’ मण्डलले भने, ‘हामी प्रदेश सांसदले दश दिन प्रदेश राजधानी, दस दिन निर्वाचन क्षेत्र र दस दिन संघीय राजधानीमा गएर बस्नुपर्ने बाध्यता छ। त्यसैले यति धेरै व्यवस्था गर्नुपर्दा जाबो घरभाडाको रकम बुझ्दैमा आलोचना गर्नु ठीक होइन।’ निर्वाचन क्षेत्र, प्रदेश राजधानी र संघीय राजधानीमा समेत घर हुने सांसदलाई भने घरभाडावापतको रकम दिन नहुने उनको तर्क छ।

 

प्रदेश २ मा सत्तापक्ष संघीय समाजवादी फोरमका सांसदहरू कौशलकुमार यादव र रामआशिष यादव, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरू सुरिता साह, जयनुल राईन, परमेश्वर साह (प्रमुख सचेतक), जानकी शरण साह, रिना यादव, नेपाली कांग्रेसका रामसरोज यादव, सरस्वति चौधरी, मञ्जुकुमारी यादव, प्रमिला दास र शिवचन्द्र चौधरी तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का किशोरी साह र रामचन्द्र मण्डल जनकपुरमा घर भएर पनि घरभाडा वापतको सुविधा बुझ्ने सांसदहरू हुन् । नेकपा सांसद साहले भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १७ मध्ये कम्तीमा २५ प्रतिशत सांसदको घर जनकपुर तथा आसपास क्षेत्रमा रहेको बताएका नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्