यी गाउँका मान्छे धमाधम मोटरसाइकल बेचेर किन किन्दैछन् घोडा ?



पाँचथर : घरैअघिको बाटो हुँदै गाडी चल्न थालेपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ मेहेलबोटेका भोला रिजालले घोडा बेचेर मोटरसाइकल किने । घाँसपात नचाहिने र राख्न पनि सानै ठाउँ भए पुग्ने भन्दै किनेको मोटरसाइकलबाट केही दिनलाई यात्रा रमाइलै भयो ।

विस्तारै मोटरसाइकल चलाउँदाको खर्च र जानैपर्ने ठाउँमा पुग्न नसकिने सडकको अवस्थाले उनलाई घोडाको उपयोग याद आयो । लगत्तै पाँचथरकै आङना पुगेर पुनः घोडा किनेर ल्याए ।

मोटरसाइकल चलाएर गाउँका सबै घर पुग्न नसकिने र दुर्घटना जोखिम समेत भएकाले घोडै भरपर्दो र यात्रामा सहज भएको उनले बुझे । उनका बाजे र बुवा पनि युवावस्थादेखि नै घोडा चढ्थे ।

‘घोडाको विकल्प मोटरसाइकल होइन रहेछ,’ रिजालले भने, ‘घोडा त साँघुरो बाटोमा पनि सजिलै जान्छ, मोटरसाइकललाई त सडकै चाहिन्छ ।’

उनीजस्तै मोटरसाइकल बेचेर घोडा किन्नेको संख्या गाउँमा थपिँदै गएको छ ।

आँगन, दलानमा अडाउने मोटरसाइकलले आफ्नो घरको शोभा नबढाएको रिजालले बताए । तबेलामा घोडा बाँधेर उसको घाँटीमा झुन्ड्याएको घन्टीको आवाजले आफूलाई आनन्द आउने उनी सुनाउँछन् ।

घोडामा चढेर उनका अग्रजहरू सदरमुकाम फिदिम बजार हुँदै कहिलेकाहीँ छिमेकी इलामसम्म पुग्थे । परम्परा धान्न पनि आफूले घोडा किनेर त्यही शैली अपनाएको रिजाल बताउँछन् ।

पहाडको उकाली ओरालीमा घोडा चढ्नुको फाइदा र सोख बेग्लै छ । जिल्लाका घुर्मिसे पञ्चमी, यासोक, रवि, राँके लगायत बजारसम्म काम विशेषले जाँदा पनि उनी घोडामै चढेर जान्छन् ।

गाउँघरमा हुने विवाह, शुभकार्य तथा मलामी जाँदा पनि उनी घोडा नै प्रयोग गर्छन् । गाउँघरको साँघुरो र अप्ठ्यारो बाटोमा समेत सजिलै घोडा हिंड्ने भएकाले मोटरसाइकलको दाँजोमा धेरै सजिलो हुने रिजालको अनुभव छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्