नेकपा स्थायी समिति बैठक जारी



काठमाडौं: नेकपा स्थायी समिति बैठक सुरु भएको छ । हिजो अचानक स्थगित भएको बैठक बिहान ८ बजे सुरु भएको हो । यसअघि हिजोको बैठकमा अध्यक्ष केपी ओलीले जवाफ दिँदा नेताहरूले प्रतिवाद गरेका थिए । प्रधानमन्त्रीसमेत रहेका ओलीको प्रतिवादमा एकपछि अर्को स्थायी समिति सदस्य उत्रिएपछि बिहीबार बैठक समापन हुन सकेन ।

 

अध्यक्षद्वय ओली र प्रचण्डले पेस गरेको प्रतिवेदन पास गरेर बिहीबार नै बैठक सक्ने तयारी थियो। तर, ओलीको दुई घन्टा लामो जवाफ सकिएलगत्तै वामदेव गौतम, घनश्याम भुसाल र भीम रावलले प्रतिवाद गरेका थिए । वैठक आज सकिनेछ ।

 

‘अध्यक्ष ओलीजीले आफ्नो धारणा राखेपछि वामदेव गौतम, घनश्याम भुसाल र भीम रावलले प्रतिवाद गरेपछि धेरैजनाले बोल्नका लागि हात उठाउनुभएको थियो,’ स्थायी समिति सदस्य गणेश शाहले भने, ‘प्रचण्डजीले लौ भैगो, आज रात पनि पर्‍यो, भोलि बिहान फेरि छलफल गरौँला भनेपछि रोकियो।’

 

स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिन उभिएका अध्यक्ष ओलीले दुई घन्टा भाषण गरे । सदस्यहरूले इंगित गरेका एउटै कमजोरी पनि ओलीले स्विकारेनन् । बरु उनले आफ्नो र सरकारको जनताले वाहवाही गरिरहेको, पार्टीभित्र भने विरोध भएकोमा असन्तुष्टि जनाएका थिए । ‘अहिले पार्टीमा आलोचना भएको छ, तर जनतामा वाहवाही नै छ। ०५१ मा गृहमन्त्री हुँदा पनि मेरो कामको जनताले प्रशंसा गरेका थिए, पहिलोपटक प्रधानमन्त्री हुँदा पनि वाहवाही पाएकै थिएँ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेता मणि थापाले भने।

 

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष भइसकेको आफूलाई अब कुनै लोभ नरहेको बताउँदै नियतवश केही गल्ती नगरेको बताए । निर्मला पन्त घटनाका दोषीलाई पक्राउ गर्न नसकिए पनि संरक्षण भने नगरेको उनको भनाइ थियो । ‘निर्मलाका हत्यारा जोगाएर सरकारलाई कुनै फाइदा हुँदैन, बरु पत्ता लगाउँदा प्रशंसा पाइन्छ,’ ओलीले बैठकमा भने ।

प्रतिक्रिया दिनुहोस्