आर्थिक ऐन २०७६ को व्यवस्था संशोधन गर्न आयातकर्ता संघ नेपालको माग



काठमाडौं : आयातकर्ता संघ नेपालले MRP को आधारमा भन्सार प्रयोजनको लागि माल बस्तुहरुको मूल्यांकन गर्ने आर्थिक ऐन २०७६ को व्यवस्था व्यवहारिक नभएको भन्दै यसलाई संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउन सुझाव दिएको छ ।

हिजो (शनिबार) होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न आयातकर्ता संघ नेपालको नवौं वार्षिक साधारण सभाले MRP को आधारमा भंसार प्रयोजनको लागि माल बस्तुहरुको मूल्यांकन गर्ने आर्थिक ऐन २०७६ को व्यवस्था व्यवहारिक नभएको, प्रचलित भन्सार ऐनको व्यवस्था अनूरुप नभएको र साथै अन्तर्राष्ट्रिय प्रचलन विपरित भएकोले उक्त व्यवस्थालाई संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउन सुझाव दिएको हो ।

आयातकर्ता संघको अध्यक्ष बल्लभ राज सिग्देलको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो ।

त्यसैगरी वर्षौदेखि आयातकर्ताको रुपमा व्यवसाय गर्दै आएका फर्म÷कम्पनीलाई मनासिव कारण र आधार बिना मुख्य कम्पनीले (निर्यातकर्ता÷उत्पादकले) ले आयातकर्तालाई हटाई अन्य व्यक्ति÷कम्पनी÷फर्मलाई आयातकर्ता नियुक्ति गर्ने जस्ता काम कारवाहीबाट आयातकर्ता व्यवसायीहरुको व्यवसाय सधैं असुरक्षीत रहेको महसुस गरिएको बारे समेत सदस्यहरुले सभालाई जानकारी गराएका थिए ।

उनले यसबाट धेरै व्यवसायीहरु पीडित हुन पुगेको यथार्थतालाई दृष्टिगत गरि आयातकर्तालाई खारेज गर्ने÷हटाउँने ÷नयाँ आयातकर्ता नियुक्ति गर्ने आधार प्रकृया र कार्यविधी सम्बन्धमा कानूनी एवं नीतिगत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्ने सुझाव सदस्यहरुले सभा समक्ष प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्