नेपाली सिने जगत : उदाउँदा अभिनेताको लोभलाग्दो पारिश्रमिक



काठमाडौं : पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा युवा पुस्ताका कलाकारहरुको आगमन बढेसँगै नेपाली फिल्म हेर्ने दर्शकहरु बढ्न थालेका छन् । दर्शकहरुले मन पराइदिन थालेपछि त्यतिकै मात्रामा फिल्महरु पनि बढिरहेका छन् । विशेषगरी हलिउड र बलिउड फिल्म हेर्ने दर्शकहरु पनि आजभोलि नेपाली फिल्म हेर्न रुचाउँछन् । फिल्मको सुरुआतका केही दिन त नायक-नायिकाको क्रेजले दर्शक हलसम्म जान्छन् । बाँकी दर्शक भने फिल्मको कथा र प्रस्तुतीले तान्ने गर्छ । यस्ता कलाकारहरुको क्रेज देखेर नै निर्माताहरु पनि उनीहरुलाई भनेको पारिश्रमिक दिन कत्ति पनि हिच्किचाउँदैनन् ।

१. अनमोल केसी


नेपाली फिल्म क्षेत्रमा मेघास्टारको ट्याग पाएका नायक हुन् अनमोल केसी । अनमोल अहिलेका सर्वाधिक महंगो नायक हुन् । दर्शकमाझ उनको लोकप्रियता साच्चिकै लोभलाग्दो छ । उनी अभिनित हरेक फिल्महरु सफल पनि छन् । उनलाई मन पराउने दर्शकको संख्या कम छैन । ‘होस्टेल’ बाट मुख्य कालाकारका रुपमा फिल्म उद्योगमा डेब्यु गरेका हुन् उनले । त्यसपछि भने एकपछि अर्को चलचित्र आउने क्रममा ‘गाजलु’, ‘ड्रिम्स’, ‘जेरी’, ‘क्री’, ‘क्याप्टेन’ लगायत चलचित्र सुपरहिट भएका छन् । अनमोलले ‘क्रि’ मा त्यसताकाको सर्वाधिक पारिश्रमिक २० लाख रुपैयाँ लिएको खबरले सनसनी मच्चाएको थियो । ब्याक टु ब्याक आफ्नो पारिश्रमिक बढाउँदै गैरहेका उनले चलचित्र ‘ए मेरो हजुर– ३’ बाट ५० लाख पारिश्रमिक लिएका छन् ।

२. प्रदीप खड्का


नायक प्रदीप खड्का युवायुवतीबीच लोकप्रिय नायक हुन् । रियालिटी शो ‘खोजी प्रतिभाको’मार्फत् अभिनयमा आएका प्रदीपले ‘इस्केप’बाट डेब्यु गरेका थिए । त्यसमा उनी खासै नोटिस भएनन् । ‘प्रेमगीत’ ले उनको उचाइ एकाएक चुल्यायो । उनका ‘प्रेम गीत’, ‘प्रेम गीत–२’, ‘रोज’, ‘लिलिबिली’ लगायत चलचित्र सुपरहिट भएका छन् । अहिले प्रदीप एक चलचित्र खेले बापत ४० लाख पारिश्रमिक लिइरहेका छन् ।

३ . पुष्प खड्का


म्युजिक भिडियोबाट फिल्ममा डेब्यु गरेका अर्का नायक हुन्, पुष्प खड्का । उनले धेरै सुपरहिट गीतमा अभिनय गरेका छन् । नायक पुष्पले चलचित्र ‘अझै पनि’ बाट सहायक हिरोको रुपमा डेब्यु गरेका थिए । त्यसपछि उनका ‘दर्पण छाया–२’, ‘मंगलम्’ चलचित्र सुपरहिट भएका छन् । पछिल्लोसमय चलचित्रमा पुष्पले ३० लाख पारिश्रमिक लिएका छन् ।

४. पल शाह


अहिलेका चल्तीका नायक रुपमा नायक पल शाह पनि पर्ने गरेका छन् । म्युजिक भिडियोबाट एकाएक चर्चामा आएका नायक पलले चलचित्र ‘नाइँ नभन्नु ल–४’ बाट फिल्ममा डेब्यु गरेका हुन् । यो चलचित्रको सफलतापछि पलले ‘म यस्तो गीत गाउँछु’, ‘जोनी जेंटल मेन’, ‘शत्रु गते’ एकपछि अर्को सुपरहिट फिल्ममा अभिनय गरेका छन् । अहिले नायक पल एक फिल्म खेले बापत २५ लाखसम्म पारिश्रमिक लिन्छन् ।

५ .आकाश श्रेष्ठ


पछिल्लो समय निकै राम्रो नाम कमाएका नायक हुन्, आकाश श्रेष्ठ । सुस्मिता केसीले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’ बाट डेब्यु गरेका उनले अभिनय गरेका चलचित्र ‘तिमीसँग’, ‘ड्रिम गर्ल’, ‘ब्ल्याक’, ‘रामकहानी’ लगायत सुपरहिट भइसकेका छन् । उनले पछिल्लो समय १८ लाखसम्म पारिश्रमिक लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्