प्रदेश २ मा प्रशस्त उत्पादनका लागि माटो परीक्षण



जनकपुरधाम: लक्ष्य अनुसारको कृषि उत्पादनका लागि प्रदेश २ मा माटो परीक्षण गर्न घुम्ती सेवा आरम्भ गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना काठमाडौंले पठाएको भ्यानमार्फत प्रदेशका आठवटै जिल्लामा माटो परीक्षणको सुविधा दिइनेछ ।

 

‘भ्यानमा माटो परीक्षणका आवश्यक उपकरण र प्राविधिकलगायत अत्यावश्यक वस्तु तथा जनशक्ति रहनेछन् । जसले गर्दा किसानलाई ठाउँका ठाउँ परीक्षण प्रतिवेदन दिइनेछ,’ माटोविज्ञ सुनिलकुमार सिँहले भने । उनका अनुसार घुम्ती भ्यानमार्फत दिनमा ३० देखि ४० जना किसानले संकलन गरेको माटो परीक्षण गर्न सकिनेछ ।

 

माटो परीक्षण गर्ने उद्देश्यले प्रदेश सरकारले सप्तरीको राजविराजमा माटो परीक्षण प्रयोगशाला स्थापना गरेको छ । यो प्रदेशस्तरीय प्रयोगशालाको उद्घाटन प्रदेश २ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शुक्रबार गर्दैछन् । यसअघि प्रदेश २ का किसानलाई माटो परीक्षणका लागि तत्कालीन पूर्वाञ्चल र अहिलेको प्रदेश १ स्थित क्षेत्रीय माटो प्रयोगशाला पुग्नुपथ्र्यो ।

 

प्रदेश २ का लागि माटो परीक्षण गर्ने प्रयोगशाला आवश्यक भएको पहिलेदेखि नै अनुभव गरिएको थियो । ‘किसानलाई माटोप्रति सचेत तुल्याउँदै मलखादको समुचित प्रयोगका माध्यमबाट उत्पादन वृद्धि गर्ने र उत्पादकत्वमा समेत बढोत्तरी गर्ने सरकारको उद्देश्यमा माटो परीक्षण प्रयोगशालाले बल पुर्याउनेछ,’ मन्त्री साहले भने । माटोको अवस्थामा सुधार ल्याउन घुम्ती भ्यानका अतिरिक्त स्थलगत शिविर र प्रयोगशालामा पनि माटो परीक्षणको व्यवस्था गरिएको छ ।

 

स्थानीय तह, कृषिसँग सम्बन्धित संस्था र सरकारी निकायको समन्वयमा गरिने स्थलगत शिविरमा माटोको प्रारम्भिक परीक्षण गरिनेछ । ‘यस्ता शिविरका माध्यमबाट कम खर्चमा बढी आयतनमा माटो परीक्षण सम्भव हुनेछ,’ शुक्रबारबाट सञ्चालनमा आउने प्रदेशस्तरीय माटो परीक्षण प्रयोगशालाका निमित्त प्रमुख सिँहले भने ।

 

माटो परीक्षणका लागि चाहिने खर्चमा संघीय सरकारले किसानलाई ७५ प्रतिशत अनुदान दिँदै आएको छ । किसानले भने कुल परीक्षणखर्चको २५ प्रतिशत लगानी गर्दै आएको छ । माटो परीक्षणका लागि अहिले किसानलाई चार सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । जसमा तीन सय रुपैयाँ संघीय सरकारको अनुदान र सय रुपैयाँ स्वयं किसानको रहने गर्छ ।

 

घुम्ती भ्यानमा गरिने माटो परीक्षणका लागि किसानले भने सय रुपैयाँमात्र तिर्नुपर्ने हुन्छ । ‘बाँकी रकम कसले तिर्ने निक्र्योल भइसकेको छैन । तर पूर्ववत् निश्चित प्रतिशतमा रकम अनुदान दिने विषयमा टुंगोमा पुगिनेछ । संघ वा प्रदेशमध्ये कुनै सरकारले अनुदान रकम दिनेछ,’ सिँहले भने ।

 

घुम्ती वा स्थलगत शिविरमा माटोको प्रारम्भिक परीक्षण गरिए पनि विस्तृत परीक्षणका लागि प्रयोगशालालाई नै बढी विश्वसनीय र भरपर्दो मानिन्छ । घुम्ती वा स्थलगत शिविर सञ्चालन हुनुअघि विभिन्न समूह, सहकारी वा कृषिसम्बद्ध कार्यालयमार्फत किसानलाई तालिम दिई माटो संकलन गरी ल्याउन प्रेरित गरिन्छ ।

 

एक अध्ययनअनुसार प्रदेश २ को माटो ६० देखि ७० प्रतिशत अम्लीय, १० देखि १५ प्रतिशत तटस्थ र बाँकी क्षारीय रहेको छ । राम्रो उत्पादनका लागि तटस्थ माटो चाहिन्छ । तटस्थ माटोमा तरकारी, खाद्यान्नलगायत निकै फस्टाउने गर्छ । अम्लीय र क्षारीय माटोमा लक्ष्यअनुसार उत्पादन हुँदैन ।

 

‘माटो परीक्षणले मलखादको प्रयोग गर्ने आधार तय गर्छ । माटोमा प्रतिइकाइ चाहिने तत्व कुन हो भन्ने पहिचान गर्दा उत्पादन स्वाभाविक रूपमा बढ्छ,’ सिँहले भने ।  किसानले उत्पादन बढाउन अहिले सामान्यतया मुख्य तत्वका रूपमा डिएपी युरिया पोटास प्रयोग गर्छन् ।

 

फस्फोरस र केही प्रतिशत नाइट्रोजन हुने डिएपी, नाइट्रोजन हुने युरिया र पोटासलाई माटोको आवश्यकता र बालीको प्रकारअनुसार प्रयोग गर्न सकिए उत्पादन लक्ष्य प्राप्त गर्न सकिने प्राविधिक ठहरका कारण प्राथमिकताका साथ माटो परीक्षण व्यवस्था प्रदेश सरकारले गरेको हो ।

 

माटो परीक्षणबाट अपेक्षित उत्पादनलाई आवश्यक मध्यम र न्यून तत्वका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । ‘अहिले प्रदेशमा देखिएको जिंक डिफिसिएन्सीजस्ता समस्या निर्मूल गर्न पनि माटो परीक्षण आवश्यक हुन्छ,’ माटोविज्ञ सिँहले भने ।

प्रतिक्रिया दिनुहोस्