आयोगले भन्यो: बहुवर्षीय ठेक्का लगाउने प्रवृत्तिले सरकारी खर्च अनियन्त्रित भयाे



काठमाडाैं : अध्ययन नभएको आयोजनामा स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का लगाउने प्रवृत्तिले सरकारी खर्च अनियन्त्रित बनेको सार्वजनिक खर्च पुनरावलोकन आयोग अध्यक्ष डा. डिल्लीराज खनालले बताएका छन्।

 

आयोगले गरिरहेका कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खनालले भने, “योजना तोक्दै बजेट बनाउने गरिएको छैन। बजेट विनियोजन गर्दा प्रतिफल के दिन्छ भन्ने हेरिएको पनि छैन। सोही कारण गलत ठाउँमा बजेट विनियोजन हुनुका साथै व्यवस्थित खर्च नहुने क्रम बढिरहेको छ।” मापदण्डविना खर्च गर्ने प्रवृत्ति बढ्दै जानु चिन्ताको विषय भएको खनालको भनाइ छ।

 

सरकारले ३ भदौमा ५ महीनाको समय दिँदै बढ्दो सरकारी खर्च र पूँजीगत खर्च नहुने प्रवृत्ति हटाउने विषयमा सुझाव दिन खनालको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो।

 

आयोगले खर्चको गुणस्तर र पूँजीगत खर्च बढाउने, चालु खर्च घटाउने, विकास आयोजनालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको छ। यस्तै, तीनै तहका सरकारबीच ठूला आयोजना बाँडफाँट गर्ने मोडालिटी र समाजिक सुरक्षा कार्यक्रममा भइरहेको दोहोरोपन हटाउन मापदण्ड तोक्ने काम गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

 

आयोगले सार्वजनिक संस्थानमा सरकारको दायित्व घटाउने उपाय र तीनै तहका सरकारमा सार्वजनिक खर्चलाई प्रभावकारी बनाउन खाका तोक्ने खनालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्