सरकारले विचल्ली बनाएको मुसहरलाई सहकारीको सहयोग



काठमाडाैं : नयाँ घर बनाइदिने भन्दै पुरानो घर तोडेर सरकारले विचल्लीमा पारेको महोत्तरीका मुसहरलाई काभ्रेपलानचोकको एक सहकारी संस्थाले राहत बाँडेको छ ।

 

बनेपा ७ स्थित सुलभ सहकारी संस्थाले महोत्तरीको भंगहा नगरपालिका ३ का ८० घरपरिवारलाई राहत बाँडेको हो । संस्थाले कठ्याँग्रिदो जाडोमा खुल्ला आकाशमूनि रात बिताउन बाध्य मुसहर परिवारलाई राहतस्वरुप त्रिपाल, ब्लैंकेट, म्याट र खाद्यान्न उपलब्ध गराएको छ ।

बिहीबार राहत लिएर गाउँमै आएको टोलीले भंगहा नगरपालिकाका नगर प्रमुख संजिव साहको उपस्थितिमा प्रति परिवार १ थान त्रिपाल, एउटा ब्लैंकेट, दुईथान म्याट वितरण गरेको छ । 

 

सहकारी संस्थासँगै आएको पतञ्जली योग समिति काभ्रेको टोलीले खानेकुरा दालमोठ, च्युरा, चाउचाउ, विस्कुट र केही लुगा वितरण गरेको छ । 

जनता आवास कार्यक्रम अन्तर्गत गत जेठमा सरकारले नयाँ घर बनाउने भन्दै मुसहर टोलको पुरानो झुपडीहरु भत्काएको थियो । नयाँ घर बनाउन जग हाले पनि ७ महिनादेखि काम अलपत्र हुँदा उनीहरु घरबार विहीन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्