मेलम्ची खानेपानीबारे सदनलाई यथार्थ जानकारी गराउन माग



काठमाडौं : संघीय संसद राष्ट्रियसभा बैठकमा मेलम्ची खानेपानीको विषय उठेको छ। शुक्रबार बिहान ११ बजे बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले मेलम्ची खानेपानी योजनाको अन्योलताबारे धारणा राखेका थिए।

 

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारकै कारण मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी काम छोडेर भागेको आरोप लगाएको छ। 

 

नेपाली कांग्रेसका सांसदहरूले सरकारले गैरकानुनी ढंगले कम्पनी संचालन गर्न आएका प्रति धरपकड गरेकाले उनीहरू काम छोडेर भागेको आरोप लगाएका हुन्। नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले सरोकार रहेको मन्त्रालयका अधिकारीबाट कमिसनको खेल शुरु भएका कारण ठेकेदार कम्पनी काम छोडेर भागेको दाबी गरे।

 

 विकास र सम्वृद्धिको नारा लगाएको सरकारका अधिकारीबाट नै ठूलो कमिसनको खेलमा लागेको भन्दै सांसद पाण्डे सरकारलाई इमान्दारी  र पारदर्शीता देखाउन चुनौती दिए। 

 

मेलम्ची आयोजना निर्माणको ठेक्का लिएको कम्पनी भाग्नु र नयाँ कम्पनी खडा गरी तत्काल निर्माणको जिम्मा लगाउने तयारी पनि भइरहेको भन्दै उनले त्यस बारेको यथार्थ जानकारी सदनलाई गराउन माग गरेका थिए।

 

 कालोसुचीमा परेको कम्पनीलाई बुढी गण्डकी जलविद्युत् आयोजनाको निर्माणको जिम्मा दिने काम भए आरोप लगाउँदै सांसद पाण्डेले बुढी गण्डकी जलविद्युत् आयोजना निर्माणको ठेक्का सम्झौता रद्द गरी स्वदेशी लगानीमा निर्माण गर्ने गरि काम अघि बढाउन पनि माग गरे। 

सत्तारुढ दलकै सांसदले पनि मेचलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको कम्पनीले काम छोडेर भागेको बारे सदनलाई यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्