राष्ट्रियसभा, नियमावली संशोधन समिति गठन



काठमाडौं : शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५ संसोधन मस्यौदा समिति गठन गरेको छ। बैठकले राष्ट्रियसभा नियमावली २०७५को नियम २ सय ३६ बमोजिम राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन गरेको हो।

 

नियमावलीमा एउटा बैठक र अर्को बैठकको दुरी ७ दिनभन्दा बढी हुन नहुने विद्यमान व्यवस्थाले विजनेस नभएको बेला पनि बैठक बस्नुपर्ने बाध्यता देखिएपछि सो व्यवस्था संसोधन गर्न लागिएको हो। 

 

नियमावलिले बैठकको सुरु र अन्त्य अध्यक्षले नै गर्नुपर्ने व्यवस्था गरेको छ। यो प्रावधानले अध्यक्षको अनुपस्थितिमा बैठक प्रभावित हुने भन्दै विद्यमान यो व्यवस्थालाई पनि संसोधन गर्न लागिएको हो। 

 

मस्यौदा समितिमा जितेन्द्र नारायण देव, जीवन बुढा, दिल कुमारी रावल थापा (पार्वती), परशुराम मेघी गुरुङ, प्रमिला कुमारी, रामनारायण विडारी, विन्दा देवी आले(राना), वृषेशचन्द्र लाल र शेर बहादुर कुँवर सदस्य रहेका छन्। शुक्रबारको बैठकमा राहदानी विधेयक २०७५ पेश भएको छ।

बैठकमा राहदानी विधेयक २०७५ पेश भएको छ । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले राहदानी विधेयक २०७५ माथि विचार गरियोस् भनी गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । सो विधेयक माथिको संसोधन प्रस्तावका लागि पुस १६ गते अपरान्ह १ बजे सम्मको समय निर्धारण गरिएको छ । अर्को बैठक पुस २० गते शुक्रबार दिउँसो १ बजे बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्