मुख्यमन्त्री योगी गौरीफन्टा नाका स्तरोन्नति गर्न सकारात्मक



कैलाली : भारत उत्तर प्रदेश प्रान्तका मुख्यमन्त्री योगी आदित्यनाथले कैलालीको गौरीफन्टा नाका स्तरोन्नतिका लागि आफू सकारात्मक रहेको बताएका छन् । नेपाल उद्योग बाणिज्य संघको प्रतिनिधि मण्डलसँगको भेटवार्तामा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले र नेपाल–भारत मैत्री बस सेवा समेत सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री आदित्यनाथले उत्तर प्रदेश र नेपालबीचको सीमा नाकालाई सहज र गतिशील बनाउन आफ्नो सरकारले विशेष ध्यान दिएको बताए ।

 

प्रतिनिधिमण्डलमा कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष शंकर बोगटीसहितका पदाधिकारी र कैलालीका यातायात व्यवसायी समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

नेपाली उद्योगी, व्यवसायीहरुले मुख्यमन्त्री आदित्यनाथलाई गौरीफन्टा नाकाको स्तरोन्नति र नेपाल–भारत मैत्री बस सञ्चालनका लागि आग्रह गरेका थिए ।

 

प्रतिनिधिमण्डलमा सहभागी कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष बोगटीले भेटवार्तामा मुख्यमन्त्री आदित्यनाथले गौरीफन्टा नाका स्तरोन्नतिबारे निकट भविष्यमा स्थलगत भ्रमण समेत गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।

 

भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले नेपाल–भारत मैत्री बस सेवा सञ्चालन योजनालाई कार्यान्वयनमा लैजान आफ्ना मुख्य सचिवलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको पनि कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्