नवनियुक्त कृषि मन्त्रीलाई प्याजले दियो चुनौती



काठमाडौं : प्याजको मूल्य एकाएक आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेदले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी थिइन् । भारतमा प्याजको मूल्यको घटबढले त्याहाको सरकार ढल्ने स्थितिसम्म पुर्याइदिन्छ । तर, नेपालमा भने प्याजको मूल्यको घटबढले त्यति चर्चा पाइरहेको छैन ।

अहिले प्याजको मूल्य बढेर नेपाली बजारमा प्रतिकिलोको २ सय रुपैयाँ मा बिक्री हुँदा पनि न त यस बिषयमा सरकार गम्भीर बनेको छ न त उपभोक्ता हित गर्ने भनेर खुलेका उपभोक्ता संघसंस्थाहरुले नै आवाज उठाएका छन् । प्याजको मूल्य आकाशिदा नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुषाललाई चुनौती थपिएको छ ।

नेपालमा पछिल्लो समय दैनिक उपभोग्य बस्तुहरुको मूल्य ह्वात्तै वृद्धि भएको छ । यसैक्रममा प्याजको भाउ आकाशिएको छ । हिजो (आइतबार) प्याज प्रतिकिलो १० रुपैयाँले बढेर १ सय ९५ रुपैयाँ पुगको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

अहिले बजारमा नयाँ प्याज आउने समय हो । तर, न्यून उत्पादन र भारतबाट आयात रोकिएकाले पनि नेपाली बजारमा प्याजको मूल्य आकाशिएका हुन सक्ने अनुमान गरिएको छ ।

तरकारीका लागि अनिवार्य जस्तो प्रयोग हुँदै आएको प्याज अहिले भाउ बढेर प्रति किलो २ सय रुपैयाँ पुगेको छ । व्यवसायीहरु नेपालमा आउने प्याज धेरै जसो भारतबाट आउने र भारतमा पनि अहिले प्याजको मूल्य वृद्धि भएका कारण नेपालमा पनि मूल्य वृद्धि गर्नु परेको बताउँछन् ।

नेपालमा उत्पादन हुने प्याजले केही महिना पनि धान्न सक्दैन । नेपाल प्याजमा पनि परनिर्भर नै छ । यसको दिगो समाधान भनेको नेपालमै आवश्यक पर्ने प्याज नेपालमै उत्पादन गर्नु हो ।
काठमाडौं उपत्यकामा मात्रै दैनिक २ सय ७० टन खपत हुने गरेको भन्सार विभागको तथ्यांक छ । पछिल्ला दिनहरुमा अहिलेसम्म भारतबाट आयात हुँदै आएको प्याज पछिल्ला दिनहरुमा चिनबाट समेत आयात हुँदै आएको छ ।

अहिले दिल्लीमा प्याजको खुद्रा मूल्य ८० भारतीय रुपयाँ बढीमा कारोबार भइरहेको छ । दुई साताअघि यो मूल्य १ सय भारतीय रुपैयाँ नाघेको थियो । बढ्दो प्याजको मूल्य नियन्त्रण गर्न केन्द्रीय खाद्य एवं सार्वजनिक वितरण मन्त्रालयका मन्त्री रामविलास पासवनले केही दिनअघि १ लाख टन प्याज आयात गरेर दिल्लीमा वितरण गर्न लागेको उदघोष गरेका थिए । त्यसपछि प्याजको मूल्य केही कम भएको थियो ।

त्यस्तै प्याजको मूल्यमा वृद्धि भएपछि बंगलादेशी प्रधानमन्त्री हसिनाले प्याज प्रयोग नगर्ने घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्