गौर बजारमा बन्द यथावत



रौतहट सदरमुकाम गौर शुक्रबार पनि बिहानैदेखि बन्द छ । प्रहरी ज्यादतीविरुद्ध सडकमा उत्रेको रौतहट उद्योग वाणिज्य संघले बिहीबारदेखि अनिश्चितकालिन बन्द घोषणा गरेको छ ।

बन्दको प्रभाव दोस्रो दिन शुक्रबार पनि देखिएको छ ।

 

संघको आह्वानमा गौरका सम्पूर्ण उद्योगी र व्यवसायी सडकमा आएका छन् । गौरबाट सीमावर्ती क्षेत्रका गाउँमा बिल-भर्पाइसहित मालसामान लैजाँदा पनि व्यापारीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर नक्कली मुचुल्का उठाइ अनावश्यक दुख दिने गरेको उनीहरुको आरोप छ । 

 

आफूहरुले जिल्ला प्रशासन कार्यालयमा यस विषयमा ज्ञापनपत्र समेत बुझाएको रौतहट उद्योग वाणिज्य संघले जनाएको छ ।

 

इशनाथ, बौधीमाई, परोहा लगायतका नगरपालिकाका व्यापारीले कर तिरेर भ्याट बिलसहित सामान लैजाँदा पनि प्रहरीले बिलभर्पाइको बेवास्ता गरी लाखौंको मालसामान राजस्व कार्यालय र गौर भन्सार कार्यालयमा बुझाएर अनावश्यक रुपमा आर्थिक क्षति पुर्याउँदै आएको संघका अध्यक्ष पण्डित जयसवालले बताए ।

 

भारतबाट प्रहरीकै मिलोमतोमा निर्वाध रुपमा सामान आइरहेको तर नेपालबाटै सामान किनेर नेपालमै लैजाँदा पनि विदेशमा तस्करीको आरोपमा समातिनु परेको उनीहरुको गुनासो छ ।

 

यता, रौतहट प्रहरीका एसपी केदार ढकालले भने कानुनले दिएको छुटको गलत फाइदा उठाएका कारण सीमावर्ती क्षेत्रका व्यापारीले दुख पाएको बताए । खपत भन्दा निकै बढी मात्रामा केराउ लगायतका सामग्री भारतीय सिमाना नजिकका गाउँमा लैजान थालेपछि प्रहरीले शंका गरेको उनले बताए ।

 

सीमावर्ती क्षेत्रबाट भारतीय भूमितर्फ ठूलो परिमाणमा केराउको तस्करी भइरहेकोले प्रहरी त्यसको नियन्त्रणका लागि प्रयासरत रहेको उनको भनाइ छ । यता संघले जारी गरेको प्रेसविज्ञप्तिमा वास्तविक दोषीमाथि कारवाही नभएसम्म र पीडित व्यावसायीलाई न्याय नदिइएसम्म बजार बन्द रहने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्