लालीगुराँस पुस महिनामै ढकमक्क



जाजरकोट : लालीगुराँस फुल्ने समय फागुन र चैत महिना हो । जलवायु परिवर्तनका कारणले लालीगुराँस मङ्सिर पुस महिनामै फुल्न थालेको छ ।

 

प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने विज्ञले बताउँदै आएका छन् । समुन्द्री सतहबाट एक हजार ३०० मिटरदेखि तीन हजार तीन हजार २०० मिटरको उचाइमा पाइने लालीगुराँस फुल्ने समय फागुन, चैत महीना भए तापनि मङ्सिर, पुसमै फुल्न थालेको स्थानीय बुढापाकाको भनाइ रहेको छ ।

 

तीस वर्षको औसत हावापानीमा हुने परिवर्तनलाई जलवायु परिवर्तन भन्ने गरिएको छ । समुन्द्री सतहमा वृद्धि हुनु, पृथ्वीको तापक्रम बढ्दै जानु र वर्षा प्रक्रियामा अनियमितता आउनु नै जलवायुजन्य परिवर्तन हो । जलवायु परिवर्तनका कारण पृथ्वीको औसत तापक्रम सन् १९१५ मा १५० सेल्सियस थियो भने सन् १९४५ मा १५.२० सेल्सियस र सन् २००० मा १५.८० सेल्सियस भएर बढ्दै गइरहेको छ ।

 

पृथ्वीको औसत तापक्रम बढ्दै गएपछि फागुन चैतमा फुल्ने लालीगुराँसका फूल मङ्सिर,पुसमै देख्न सकिने जलवायु विज्ञको भनाइ छ । जलवायुजन्य प्रकोपका हिसाबले नेपाल विश्वको चौथो सङ्कटासन्न राष्ट्र हो ।

 

सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको पृथ्वी सम्मेलन-जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिमा नेपालले १२ जुन १९९२ का दिन हस्ताक्षर गरेको थियो भने उक्त जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् १९९४ देखि नेपालका पक्ष भएको थियो ।

 

नेपालले पनि जलवायु परिवर्तन नीति २०६७ पारित गरिसकेको छ । जलवायुजन्य परिवर्तनका असरलाई न्यूनीकरण गर्न नेपाल सरकारले कालापत्थर, सगमाथा सम्मेलन सम्पन्न गरिसकेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्