जब सावित्री र हेलेन निर्मलाकाे लागि न्याय माग्न धनगढी पुगे (फाेटाेफिचर)



धनगढी : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्याराको खोजी प्रदेश र संघीय सरकारले गरिरहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । 

 

बुधबार कञ्चनपुरबाट मुख्यमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाउन आएका अधिकारकर्मीलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले अहिलेसम्म ठोस परिणाम ननिस्कँदा आफूहरु पनि दुःखित बनेको बताए । 

 

 उनले भने,‘प्रदेश सरकार र संघीय सरकार हत्याराको खोजी गरिरहेको र चाँडो परिणाम आउनेमा हामी विश्वस्त छौँ ।’ निर्मलालाई न्याय दिलाउन कञ्चनपुरमा गरिएको आन्दोलनमा घाइते भएकाहरुको उपचारमा पनि प्रदेश सरकारले लागिरहेको उनले बताए । 

ज्ञापन पत्र बुझाउन मुख्यमन्त्री कार्यालयमा पुगेकी अधिकारकर्मी सावित्री सुवेदीले ७७ जिल्लामा निर्मलाको न्यायका लागि आन्दोलन भइरहँदासमेत सरकार गम्भीर नभएको बताए । 

 

 उनले दोषी पत्ता लगाउन आम नागरिक सदैव सरकारसँग रहेको बताए ।  घटनाको  ६८ दिन बितिसक्दा पनि सरकारले अपराधी पत्ता लगाउन नसकेको भन्दै उनीहरुले सरकार अपराधी बचाउमा लागिपरेको आरोप लगाए ।

 

  ज्ञापन पत्र बुझाउनुअघि महिला अधिकारकर्मीले मुख्यमन्त्री कार्यालय अगाडि आधा घण्टा नाराबाजी गरे । 

 

नाराबाजी गर्दै उनीहरुले सरकारको पछिल्लो कदम र जिम्मेवार व्यक्तिबाट आइरहेका अभिव्यक्तिले निर्मलाका  हत्यारा पक्राउ हुनेमा आफूहरु विश्वस्त हुन नसकेको दबाबमूलक संघर्ष समिति संयोजक हेलेन श्रेष्ठले चिन्ता व्यक्त गरे । 

 

 उनले स्थानीय तहमा सरकार आएको भन्दै खुसी भएका नागरिक अहिले निराश बनेको बताए ।  प्रहरीले बलात्कार र हत्या हिंसाका घटना २४ घण्टाभित्रै सार्वजनिक गर्दै आएको भए पनि कञ्चनपुरको घटना दुई महिना बितिसक्दा पनि सार्वजनिक गर्न नसक्नुले आफूहरु सशंकित बनेको उनको भनाइ थियो । 

 

पछिल्लो समय बढ्दै गरेका बलात्कार र हत्याका श्रृङ्खलाले आफूहरु असुरक्षित रहेको भन्दै महिला अधिकारकर्मी भुवनेश्वरी कुँवरले सरकारले गरिब जनतामाथि अन्याय गरेको बताइन् । 

 

उनले निर्मला हत्या प्रकरणको अनुसन्धानमा सुरुआतबाटै प्रहरी प्रशासनबाट लापरबाही देखिएको बताइन् । 

 

निर्मलालाई न्याय दिलाउन गरिएको आन्दोलनमा घाइते भएकी मञ्जु गिरीले आफूहरु हत्यारालाई कठघरामा नउभ्याउन्जेलसम्म सडक आन्दोलनमै रहने बताइन् । उनले निर्मलाले न्याय नपाउँदासम्म कञ्चनपुरका बालिकाहरुले असुरक्षित महसुस गरिरहेको बताइन् ।

​​​​​​

प्रतिक्रिया दिनुहोस्