अब निर्मलाकाे न्यायका लागि बालबालिका पनि लड्न थाले



कैलाली : कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६८ दिन पुगिसक्दा पनि सरकारले अपराधी पत्ता लगाउन सकेको छैन ।

 

बालिका हत्याको विरोधमा देशव्यापी आन्दोलन र पदर्शन भइरहँदा कैलालीका बालिबालिका समेत आन्दोलित भएका छन् । हत्यामा संलग्नलाई कारबाहीको साटो सरकार अपराधी बचाउमा लागिरहेको भन्दै दोषीलाई कारबाहीको माग सहित लम्कीचुहा नगरपालिका अन्तर्गत विभिन्न विद्यालयमा अध्यनरत बालिकाहरुले पूर्वपश्चिम महेन्द्रराजमार्गको लम्की चौराहामा करिब डेढ घण्टा चक्काजाम सहित कोणसभा गरेका छन् ।

 

बिभिन्न विद्यालयबाट स्वस्फुर्त रुपमा आन्दोलनमा सहभागी भएका विद्यार्थी बाल बालिकाहरुले सरकारको यस्तो कदमले आफुहरु शश‌ंकित मात्र होईन ढुक्कसँग हिडडुल गर्न समेत असहज भइरहेको भन्दै आक्रोसित भएका हुन् ।

 

उनीहरुले सरकारको पछिल्लो कदम र जिम्मेवार व्यक्तिबाट आईरहेका अभिव्यक्तिले निर्मला पन्तका हत्यारा पक्राउ हुनेमा आफूहरु विश्वस्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय बढ्दै गरेका बलात्कार र हत्याका श्रृङ्खलाले आफूहरुको सुरक्षामाथि नै गम्भिर प्रश्न उठेको भन्दै सरकारले गरिब जनतामाथि अन्याय गरेको बताएका छन् ।

 

आफूहरुको एक मात्र चाहाना निर्मला पन्त र उनी जस्तै बलात्कार भएका चेलीहरुले न्याय पाउनुपर्ने भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । हत्यारा आफ्नै वरिपरि निर्धक्क घुमिरहेको भएपनि सरकार कानमा तेल हालेर सुतिरहेकोले सरकारको नेतृत्व गर्ने माथि नै गम्भिर शंका उत्पन्न भएको बाल बालिकाहरुको भनाई छ ।

 

सरकारको यस्तो कदमले देशमा सरकार छ कि छैन भन्ने अाभाष भएको बालबालिकाहरुको भनाई थियो । यस्ता गतिविधिले आफूहरुले समाजमा शिर निहुँराएर हिडिरहनु परेको भन्दै यसको अन्त्यका लागि कुनै पनि हालतमा निर्मला पन्तका हत्यारालाई कारबाही गरेरै छाड्नुपर्ने उनीरुको भनाई छ ।

 

निर्मलाका पन्तका हत्यारालाई कारबाही गर्न नसकेकै कारण देशमा अन्य बलात्कार र हत्याका घटना बढिरहेको भन्दै यसले अपराधिलाई थप प्रोत्साहान मिलिरहेको बालबालिकाहरुले बताए । निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६८ दिन बितिसक्दा पनि सरकारले अपराधी पत्ता लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्