मन्त्रीले दोहोरो सुविधा लिएका छैनन् : सुदूरपश्चिम सरकार



कैलाली : सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकारको प्रगति विवरण सार्वजनिक गरेका छन् । शुक्रबार धनगढीमा पत्रकार भेटघाट कार्यक्रम गर्दै मन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकार विधेयक, नीतिनियम र कानुन निर्माणमा देशमा दोस्रो प्रदेशका रूपमा स्थापित भएको बताए । 

प्रदेश सरकारले हाल सम्म ३४ वटा विधेयक, १७ वटा ऐन, १० वटा कार्यविधि, ४ वटा नियमावली, २ वटा निर्र्देिशका बनाएको मन्त्री शाहले बताए । मन्त्रिपरिषद्बाट थप चारवटा नियमावली र दुईवटा कार्यविधि अगाडि सारिएको उनले जानकारी दिए । 

उनले छिट्टै प्रदेश प्रहरी र प्रदेश अनुसन्धान ब्युरो स्थापना गर्ने आवश्यक प्रक्रिया अघि बढाइने बताए । 

प्रदेशसभाको हिउँदे अधिवेशन पुस को तेस्रो सातापछि सञ्चालन हुने मन्त्री शाहले बताए । सुदूरपश्चिम प्रदेश संसद्को हिउँदे अधिवेशन अझै सञ्चालन हुन सकेको छैन । 

त्यस्तै प्रदेश सामाजिक मन्त्रालयको प्रस्तावमा दुर्घटनाबाट घाइते भएका नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङलाई उपचार खर्चबापत ६ लाख र अर्का नेपाली कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य नन्दाकुमारी बमलाई उपचार खर्चबापत एक लाख प्रदान गरेको मन्त्री शाहले जानकारी दिए ।  

प्रदेशका मन्त्रीले इन्धनखर्चमा दोहोरो सुविधा लिएको भन्ने समाचार भ्रामक रहेको दाबी गर्दै उनले नियमविपरीत कुनै सुविधा नलिएको बताए । प्रदेशका मन्त्रीले प्रतिमहिना २५० लिटर इन्धन पाउने नियमअनुसार सुविधा लिएको उनको भनाइ छ । 

त्यस्तै राजधानीमै घर भएका सांसदले घरभाडा लिएको भन्ने सुन्नमा आएकाले घरभाडाबापत लिएको रकम सबै सांसदले फिर्ता गर्नुपर्ने मन्त्री शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्