संसद्को चालू अधिवेशनमै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री यादव



काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधानले देश नचल्ने बताउँदै तत्काल संशोधन गर्नुपर्ने बताए । उनले भने, ‘यो संविधानले देश चल्दैन । जति चाँडो संविधान संशोधन गर्यो, त्यति चाँडो मुलुकले बाटो पाउँछ ।’

शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कारमा यादवले संविधान संशोधन गराउने समझदारीका आधारमा नै आफूहरू सरकारमा सहभागी भएको स्पष्ट पारे । उनले भने, ‘संविधान संशोधन गराउन र मुलुकमा भएका सबैखाले विकृति तथा विसंगतिको अन्त्य गर्ने समझदारीका आधारमा हामी सरकारमा सहभागी भएका हौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका अध्यक्ष यादवले संविधान संशोधन नगरेसम्म मुलुकले बाटो नपाउने ठोकुवा गरे । उनले भने, ‘संविधान संशोधन गराउनका लागि हामीले प्रयत्न गरिरहेका छौं । संविधान संशोधन नभएसम्म मुलुकले स्थिरता पाउँदैन । अहिले मुलुक अलमलिएको छ । मुलुकलाई यो अलमलबाट बाहिर निकालेर अब अगाडि बढाउनुपर्छ । यसका लागि चाँडोभन्दा चाँडो संशोधन विधेयक अगाडि बढाउनुपर्छ ।’

मन्त्री यादवले संसदको यही चालू हिउँदे अधिवेशनमै संविधान संशोधन विधेयक दर्ता हुने र पारित हुने विश्वास दिलाए । उनले भने, ‘यदि संशोधन प्रस्ताव दर्ता भएन भने जनतामा सरकारप्रति अविश्वास हुन्छ । जनताको विश्वास गुमेपछि राजनीति काम लाग्दैन ।’

सरकारको दस महिनाको उपलब्धि के हो त भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘सरकारको उपलब्धि भनेको निरन्तर सरकार चलिरहेको छ । हामीले यो सरकार दुईतिहाइको हो भनेर भन्न पाएका छौं । सरकार स्थिर छ । कसैले हल्लाएर हल्लिँदैन । संसद्मा विपक्षी छैन । सत्तापक्षका नेताहरूले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छन् । सरकारलाई हाइसञ्चो छ ।’

मन्त्री यादवले सरकारले यो दस महिनाको अवधिमा मौलिक हकसम्बन्धी कानुन निर्माण गरेको, जंगबहादुर राणाले बनाएको १८५४ को मुलुकी ऐन प्रतिस्थापन गरेको, केही समयलाई भए पनि राजनीतिक स्थिरता भएको र प्रयास गर्दा अब विकासका लागि आधार तयार भएको लगायत सरकारले गरेका राम्रा कामको फेहरिस्त सुनाए ।

प्रतिक्रिया दिनुहोस्