चार दिनदेखि तीन बालिका बेपत्ता



सुर्खेत : पूर्वीसुर्खेत सिम्ता क्षेत्रका तीनजना बालिका चार दिनदेखि बेपत्ता छन् । घरबाट स्कुल जान हिँडेका तीन बालिका मंगलबार दिउँसोदेखि बेपत्ता भएका हुन् । 

दिउँसोको छुट्टीमा कापी बिर्सियो भनेर घर आई फेरि स्कुल फर्केका बालिकाहरू हालसम्म सम्पर्कविहीन छन् । सिम्ता गाउँपालिकाका एकैघरका दुई दिदीबहिनीसहित एक अर्की बाालिका हराएका छन् ।

बेपत्ता हुनेमा खानिखोला–९ की १४ वर्षीया बालिका निशासिंह ठकुरी, सोही ठाउँ बस्ने एकैघरका दुई बहिनी १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षकी रिसिमा खत्री छन् । निशाकी आमा भगवतीका अनुसार पुस १० गते दिउँसो १ बजे हाफटाइममा कापी बिर्सियो भनेर घर आएकी र फेरि स्कुल फर्केकी छोरी हालसम्म घर आएकी छैनन् । 

उनीहरू गाउँपालिकाको वडा नम्बर ५ आलीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरत छन् । छोरीहरू बेलुकी घर नआएपछि सोही राति प्रहरी चौकी आलीमा खबर गर्दा समेत प्रहरीले बेवास्ता गरेको आफन्तको आरोप छ । 

स्कुल पढाएका छोरीहरू एकाएक यसरी गायब हुँदा अनौठो लागेको यमुनाकी आमा दीपाले बताइन् । बुटवलस्थित फुपुको घर जाने भन्दै स्थानीय सल्लीबजारमा गाडीचालकहरूसँग उनीहरूले कुरा गरेको सुन्नमा आएको दीपाले जनाइन् ।

एक गाडी चालकले सल्लीबजारदेखि मेहलकुनासम्म उनीहरूलाई लगी साँझ परेपछि आफ्नै घरमा राखेका थिए । जहाँबाट उनीहरू कसैलाई थाहा नदिएर बिहानै हिँडेको ती चालक बताउँछन् । प्रहरीले ती चालकलाई इलाका प्रहरी कार्यलय छिन्चुमा राखेर सोधपुछ गरिरहेको छ ।

हराएका बालिका निशा र यमुनाका बुवा हाल रोजगारीका लािग भारतमा छन् ।

प्रतिक्रिया दिनुहोस्