मिस वर्ल्ड जित्न अनुष्काको यस्तो छ तयारी



काठमाडौं : मिस नेपाल वर्ल्ड २०१९ की विजेता अनुष्का श्रेष्ठ यतिबेला मिस वर्ल्डका लागि लण्डनमा छन् । मिस वर्ल्डको फाइनल १४ डिसेम्बरमा हुँदैछ । यस वर्ष अनुष्काले तहल्का मच्चाउने अनुमान पनि गरिएको छ ।

२०१८ की मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्यूटि विथ अ प्रपोज’ गरी दुई अवार्ड जितेर नेपालका लागि एउटा नयाँ रेकर्ड बनाएकी थिइन् । श्रृंखलाले २०१८ को मिस वर्ल्ड जित्ने भनेर धेरैले अनुमान लगाइरहँदा उनी टप १२ बाट नै बाहिरिनुपर्यो ।

अनुष्काले मिस नेपालको ताज पहिरिएसँगै उनलाई १० गुणा चुनौती थियो भन्दा फरक नपर्ला । किनभने मिस नेपाल २०१८ की श्रृंखलाले जुन किसिमको उचाई बनाएकी थिइन् त्यसलाई मिट गर्नु नै उनका लागि थप चुनौती र सकस थियो । श्रृंखलाले मिस नेपालको ताज पहिरिएसँगै जुन किसिमको चर्चा र सर्पोट पाइन्, त्यो चर्चा मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठको देखिएन । मिस नेपाल जितेपछि उनी मिडियामा समेत खासै देखिइनन् । सामाजिक सञ्जालमा पनि उनी खासै सक्रिय भएको देखिएन् । उनले २०१९ को मिस नेपाल जितेपनि चर्चा भने २०१८ की मिस नेपालकै रह्यो । अनुष्काको अनुहार सुन्दर नरहेको र क्षमतावान पनि नभएको भन्दै उनको धेरै नै आलोचना समेत भयो ।

तर जसै मिस वर्ल्डका लागि अनुष्काको परिचयात्मक भिडियो आयो, उनले यस्तो वाहवाही बटुलिन् जुन आशा गरेभन्दा बिल्कुलै फरक भयो । जसले श्रृंखलासँग तुलना गर्दै श्रृंखलाको बराबर उनी छैनन् भन्नेहरुका लागि अनुष्काले भिडियोमार्फत कडा जवाफ फर्काइन् । उनको यो भिडियोसँगै नेपालले अर्को इतिहास रच्ने आशा नेपालीहरुले बुन्न थालेका छन् भने अनुष्काको तारिफ गर्नेहरु पनि बढेका छन् ।

अनुष्का लण्डन पुग्ने वित्तिकै ‘हेड टु हेड’ च्यालेन्जका लागि समूह विभाजन भइसकेको छ । सो प्रतियोगिताको लागि अनुष्काको समूहमा मेक्सिको पनि परेको छ । मेक्सिकोले अघिल्लो वर्ष मिस वर्ल्डको उपाधि जित्नुका साथै ‘हेड टु हेड’ च्यालेन्ज पनि जितेको थियो । त्यसैले मेक्सिकोको समूहमा परेको नेपालले राम्रो तयारी गर्नुपर्ने देखिन्छ ।

अनुष्काले मिस वर्ल्डमा हुने १५ वटा विभिन्न विधाको तयारी गरेकी छन् । उनले ट्यालेन्ट राउण्डमा भने गीत गाउने बताइएको छ । उनले भाग लिने १५ वटा विधामध्ये दुईवटा विधामा उनलाई नेपालीहरुको सहयोग (भोट र लाइक्स)को खाँचो हुन्छ । त्यो हो, मल्टिमिडिया अवार्ड र ‘हेड टु हेड’ च्यालेनज । योमध्ये कुनै एक अवार्ड जितेसँगै उनी सिधै मिस वर्ल्डको टप २० मा पुग्ने छन् ।

त्यसका लागि भोट गर्न मोबस्टार नामक एक याप डाउनलोड गरी सर्च बटनमा गएर मिस नेपाल २०१९ टाइप गरी फलो गर्ने र उनले शेयर गरेका पोष्टहरुलाई लाइक गर्नुपर्ने हुन्छ । यसका लागि अनुष्का आफैँले पनि नेपालीहरुको माया र साथको अति नै आवश्यक रहेकोसमेत बताएकी छन् । उनले गत वर्षमा जस्तै यस वर्ष पनि नेपालीहरुले दिल खोलेर आफूलाई सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताएकी छन् । साथै आफ्नो मेहनतले सकेसम्म नेपालीलाई निराशा नबनाउने समेत बताएकी छन् ।

लण्डन पुगेसँगै अहिले उनले लगातार आफ्नो अपडेट सामाजिक सञ्जालका विभिन्न माध्यमद्वारा दिइरहेकी छन् । जसमा उनी १ सय ८ देशबाट आएका विभिन्न सुन्दरीसँगको बढ्दो आत्मियता एकदमै मिलनसार अनि कन्फिडेन्ट रहेको देखिन्छ । उनको यो आत्मविश्वासको धेरैले खुलेर तारिफ गरेका छन् भने उनले मिस वल्र्ड जित्नसक्ने लक्षण देखिएको पनि बताएका छन् । उनको बोल्ने तरिका र देखाइरहेको प्रस्तुतीले पनि मिस वर्ल्डका लागि उनको तयारी निकै नै राम्रो छ भनेर अनुमान पनि लगाउन सकिन्छ ।

अनुष्काले मिस वर्ल्ड जित्नका लागि उनको आफ्नो मेहनतका साथसाथै नेपालीहरुको साथको पनि उत्तिकै खाँचो रहेको छ । आशा गरौँ उनले नेपाललाई थप नयाँ उचाईमा पुर्याउने छिन् । मिस वर्ल्ड२०१९ का लागि मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठलाई धेरै धेरै शुभकामना !

प्रतिक्रिया दिनुहोस्