प्रदेश इन्चार्ज तोक्ने तयारीमा नेकपा



जिल्ला कमिटी र भातृ संगठनहरुको एकीकरण प्रक्रिया पेचिलो बन्दै गएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पहिलो चरणमा प्रदेश कमिटीहरुको एकीकरण टुंग्याउने भएको छ । विहीबार बस्ने सचिवालय बैठकले प्रदेश कमिटी अध्यक्ष र सचिव तोक्नुको साथै इन्चार्ज र सहइञ्चार्जको टुंगो लगाउने सम्भावना छ ।

जिल्ला, स्थानीय तह र भातृ संगठनहरुको एकीकरण सम्पन्न गर्न अझै २ महिना लाग्ने निष्कर्ष सचिवालय बैठकमा महासचिव बिष्णु पौडेलले सुनाएपछि प्रदेश कमिटी गठन पहिले गर्न लागिएको हो । सातवटा प्रदेश कमिटी गठन गर्ने र जिल्ला तथा मातहत कमिटीहरुको एकीकरणका मापदण्डसहित प्रदेशलाई नै जिम्मा दिने बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

यसअघि तोकिएको मापदण्डले नपुगेपछि मापदण्ड परिमार्जनको लिखित प्रस्ताव समेत सचिवालय सदस्यहरुलाई उपलव्ध गराइएको छ । महासचिव बिष्णु पौडेलले एकीकरणका लागि आवश्यक मापदण्ड बनाएर पठाउन लागिएको पुष्टि गरे । उनले व्यक्तिको अनुहार हेरेर होइन, सबैलाई लागु हुनेखालको मापदण्ड बनाएर पठाउने बताए । सचिवालय बैठकले तय गरेको मापदण्डअनुसार सबै ठाउँमा एकीकरण प्रक्रिया सहज रुपमा अघि बढ्ने उनले बताए ।

विशेष गरी माधव नेपाल लगायतका नेताले तल्ला कमिटीको एकीकरणमा अध्यक्ष वा सचिव बन्ने व्यक्तिको मापदण्ड माथिबाटै तोकिनुपर्ने र कमिटीमा थपिने व्यक्तिको बरिष्ठताको मापदण्ड पनि तय हुनुपर्ने माग गरेका थिए । मापदण्ड नतोकिदा संस्थापन पक्षले एकलौटी गरेको आरोप नेपाल पक्षको छ ।

तर, नेपाल पक्षकै स्थायी कमिटी सदस्य तथा प्रदेश ३ कार्यदल संयोजक अष्टलक्ष्मी शाक्यले भने अधिकांश कार्यदलले काम गरिसकेपछि मापदण्ड बनाउनुको अर्थ नरहेको बताइन् । व्यक्ति हेरेर मापदण्ड बनाउन लागिएको भन्दै विवाद भएका जिल्ला बाहेक अन्यत्र पुनः मापदण्डका नाममा मिलिसकेको विवाद बल्झाउन नहुने शाक्यको भनाइ छ ।

केन्द्रीय कमिटीमा केही नेता मिलेपछि सहज रुपमा भागबण्डा टुंगिएर सम्भव भएको नेकपाका एकीकरण प्रदेश र जिल्लामा पुगेपछि पेचिलो बनेको छ । नेतृत्वमा रहने व्यक्तिको प्रष्ट मापदण्ड निर्धारण नगरिए धेरै कमिटीहरु एकीकरण गर्न नसकिने भन्दै पूर्व एमाले र पूर्व माओवादी दुवैतिरका नेताले मापदण्डको माग गरेका हुन् ।

कोको बन्दैछन् प्रदेश इञ्चार्ज

स्रोतका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसँगको छलफलपछि महासचिव पौडलले प्रदेश कमिटी गठनको प्रस्ताव तयार पारेका छन् । सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुनेछ । सकेसम्म आजै टुंगो लगाउने तयारी बैठकमा भएको छ । प्रदेश कमिटी एकीकरण कार्यदलहरुको सिफारिसका आधारमा कमिटी गठन गर्न लागिएको छ । तर, प्रदेश २ ले अहिलेसम्म सिफारिस नै गर्न सकेको छैन ।

प्रदेश अध्यक्ष र सचिवमा टुंगो नलागे पनि अधिकांश प्रदेश कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम सिफारिस गरिसकेका छन् । प्रदेश ७ ले अध्यक्ष र सचिवको नामसमेत सिफारिस गरेकाले सचिवालयले सोही अनुमोदन गर्ने सम्भावना छ । प्रदेश ७ को अध्यक्षमा तत्कालीन एमालेका कर्णबहादुर थापा र सचिवमा तत्कालीन माओवादीका लक्ष्मी जोशी सिफारिस भएका छन् ।

अब प्रदेश इञ्चार्जमा भीम रावल र लेखराज भट्टमध्ये एक हुनेछन् । प्रदेश अध्यक्ष पूर्व एमालेको भएको ठाउँमा इञ्चार्ज पूर्वमाओवादीको हुने र पूर्व माओवादीको अध्यक्ष भएको ठाउँमा इञ्चार्ज पूर्व एमालेको हुने प्रारम्भिक समझदारी थियो । तर पछिल्लो समय व्यक्तिको बरिष्ठता, क्षमता र आवश्यकता तथा सम्बन्धित कमिटी तथा व्यक्तिबीचको सहमति अनुसार अध्यक्ष र इञ्चार्जहरु तोकिने गरी लचिलो मापदण्ड बनाइएको छ ।

कर्णाली प्रदेशको अध्यक्ष पूर्व एमालेबाट यमलाल कँडेल र पूर्व माओवादीबाट मायाप्रसाद शर्मा दाबेदार छन् । कँडेल अध्यक्ष भएमा शर्मा सचिव हुनेछन् भने जनार्दन शर्मा इन्चार्ज र गोरखबहादुर बोगटी सहइञ्चार्ज हुनेछन् ।

त्यस्तै प्रदेश ५ मा पूर्वएमालेले अध्यक्ष पाए दलबहादुर राना मगर र पूर्वमाओवादीले पाए गणेशमान पुन मगरको नाम सिफारिस भइसकेको छ ।

प्रदेश इञ्चार्जमा पूर्वएमालेबाट घनश्याम भुसाल र छविलाल विश्वकर्मा तथा पूर्व माओवादीबाट मणि थापामध्येबाट एक हुनेछन् । शीर्षतहमा प्रदेश ३ को अध्यक्ष पूर्वमाओवादी र प्रदेश ५ को अध्यक्ष पूर्वएमालेले पाउने गरी छलफल अघि बढेको स्रोतले जनाएको छ  । यसअघि प्रदेश ३ पूर्व एमालेले पाउने समझदारी भएको थियो ।

गण्डकी प्रदेशको अध्यक्षमा पूर्वमाओवादीबाट हरि अधिकारी प्रमुख दाबेदार देखिएका छन् । पूर्वएमालेबाट तुलबहादुर गुरुङ, खगराज अधिकारी पनि दाबेदार हुन् । यो प्रदेशको अध्यक्ष पूर्वमाओवादीले पाउने बढी सम्भावना छ । त्यसो हुँदा प्रदेश इञ्चार्ज किरण गुरुङ र सहइन्चार्ज देवेन्द्र पौडेल हुनेछन् । गुरुङ प्रदेश सरकारको अर्थमन्त्री छन् ।

प्रदेश ३ को अध्यक्षमा पूर्व एमालेबाट काशिनाथ अधिकारी र शेरबहादुर तामाङ प्रमुख दाबेदार देखिएका छन् । पूर्वमाओवादीबाट हितमान शाक्य र नारायण दाहालको दावी छ । प्रदेश इञ्चार्जमा अष्टलक्ष्मी शाक्यको सम्भावना छ । यद्यपि अग्नि सापकोटा र हरिबोल गजुरेल पनि इञ्चार्जका दाबेदार हुन् ।

प्रदेश २ को अध्यक्षमा पूर्वमाओवादीका प्रभु साहको सम्भावना छ । साह अध्यक्ष भएमा इञ्चार्जमा पूर्वएमालेका सत्यनारायण मण्डल हुनेछन् । यद्यपि प्रदेश २ मा पूर्वएमाले र पूर्वमाओवादी दुवै समूहमा विवाद छ ।

प्रदेश १ को अध्यक्षमा पूर्वएमालेका घनेन्द्र बस्नेत र देवराज घिमिरेको नाम सचिवालयमा सिफारिस भएको छ । सचिवमा पूर्वमाओवादीका सावित्रीकुमार काफ्लेको नाम सिफारिस भएको छ ।

यद्यपि पूर्वएमालेभित्र यो सिफारिस विवादमा परेको छ । जगन्नाथ खतिवडाको नाम भीम आचार्यले सिफारिस गर्न नमानेपछि माधव नेपाल समूहमै विवाद छ । प्रदेश एकको इञ्चार्जमा भीम आचार्यको समेत दाबी छ

प्रतिक्रिया दिनुहोस्