ए डिभिजन लिग : आर्मी र पुलिस विजयी



काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब नेपाल पुलिससँग तीन एकले पराजित भएको छ । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा पुलिसले थ्रीस्टारलाई करिब ७ वर्षपछि लिगमा हराएको हो ।

थ्रीस्टारले खेलको १२ औँ मिनेटमा विदेशी खेलाडी अल्ब्रेटको गोल मार्फत अग्रता बनाएको थियो । तर २० औँ मिनेटमा पुलिसले खेल बराबरी गर्न सफल भयो । उसका लागि निरकुमार राईले गोल गरे । 

खेलको ४७ औँ मिनेटमा थ्रीस्टारका विजय धिमालले डिबक्समा हातले बल छोएपछि पाएको पेनाल्टीलाई पुलिसका अभिषेक रिजालले गोल गर्न सफल भए ।

त्यसपछि ५५ औँ मिनेटमा पुलिसका कप्तान भोला सिलवालले गोल गरे । खेलको ८६ औँ मिनेटमा थ्रीस्टारले पेनाल्टीको अवसर पाएको थियो । तर रञ्जित धिमालको प्रहार पुलिसका गोलकिपरले बचाए । त्यसपछि थ्रीस्टार खेलमा फर्कन सकेन । 

हारपछि थ्रीस्टार लिगको तेस्रो स्थानमा नै रहेको छ भने पुलिस १८ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ ।

यसअघि भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मीले  दश खेलाडीमा सीमित सरस्वतीलाई चार शून्यले हरायो । उसका लागि भरत खवासले २ तथा नवयुग श्रेष्ठले एक गोल गरे । आर्मीले एक गोल उपहार पाएको हो । 

जितसँगै आर्मीले ११ खेलबाट २१ अंक बनाएको छ भने सरस्वतीको १० अंक छ ।

प्रतिक्रिया दिनुहोस्