‘नेकपा र कांग्रेसको विकल्प समाजवादी पार्टी’



समाजवादी पार्टीले उपनिर्वाचनको अवसरमा भक्तपुरमा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार आयोजित घरदैलो कार्यक्रममा कानुनमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, नेतृ हिसिला यमी, उपाध्यक्ष पर्शुराम खापुङ तथा उम्मेदवार सुदर्शन मुनकर्मी लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

घरदैलो कार्यक्रम अन्तर्गत महालक्ष्मीस्थानबाट सुरु गरेर कमलविनायक चोक, पाइपलाइन भत्केको पाटी, टाउन प्लानिङ हुँदै कमलविनायक बसपार्कमा पुगेर चुनावी सभामा परिणत भएको थियो ।

उक्त सभामा बोल्दै पार्टी उपाध्यक्ष पर्शुराम खापुङले नेकपा र कांग्रेसको गलत शासन प्रणालीका कारण देशमा बरोजगारी बढेको आरोप लगाएका थिए । उनले नेकपाको सरकार हुँदासम्म कांग्रेस प्रतिपक्ष हुने र यी दुवै हुँदासम्म देशमा समृद्धि नआउने बताएका थिए । उनले नेकपालाई सरकारबाट हटाउनुपर्ने र कांग्रेसलाई प्रतिपक्षबाट हटाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी चुनावी सभालाई सम्वोधन गर्दै समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले भने, ‘ आज जुन सुकै देशसामु भिख माग्ने स्थितिमा देश पुगेको छ । त्यसको अन्त्य गर्न नयाँ पार्टी समाजवादी पार्टीको सुरुवात गरेको हो ।’ उनले समाजवादी पार्टी देशलाई सुशासनमा लैजान वैकल्पिक पार्टीको रुपमा आएको बताए ।

प्रतिक्रिया दिनुहोस्