नारायणी रगंशालाको जग्गा कब्जा प्रयास, प्राशासन माैन



वीरगन्ज : वीरगन्जस्थित नारायणी रगंशालाको जग्गा एक निजी विद्यालय सञ्चालकले कब्जा गर्न खोजेका छन् । वीरगन्ज महानगरपालिका–१३ मा रहेको नारायणी रगंशालाको जग्गा गौतम माध्यमिक विद्यालयका सञ्चालक सोनाम लामाले बलपूर्वक कज्जा गर्न खोजेका हुन् ।

लामाले बिहीबार राती नौ बजे स्काभेटर लगाएर रगंशालाको जग्गा अतिक्रमण गर्न खोजेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर, प्रहरीले अतिक्रमणमा संलग्न लामाका सहयोगीलाई सामान्य सोधपुछबाहेक केही नगरेको स्थानीयले बताएका छन् ।

पैसा र शक्तिको आडमा लामाले रङ्गशालाको जग्गा कब्जा गर्न खोजेको स्थानीयको आरोप छ । शुक्रबार स्थानीयले वीरगन्जमा पत्रकार सम्मेलन गर्दै लामाले लामो समयदेखि जमिन आफ्नो बनाउन गरेको प्रयास असफल भएपछि रातारात जग्गा कब्जामा लिन खोजेको आरोप लगाएका हुन् ।  

लामाले बारम्बार जमिन कब्जा गर्न खोज्दा पनि प्रशासन मौन बस्नुलाई स्थानीयले मिलेमतोको आशंका गरेका छन् । जबरजस्ती जमिन कब्जा गर्ने लामालाई प्रशासनले नियन्त्रणमा नलिए सडक आन्दोलनमा उत्रने चेतावनी स्थानीयको छ । 

पहिले पनि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष निशान्त लामिछानेले यो जग्गा लामालाई भाडामा दिन सिफारिस गरेका थिए । तर लामिछानेलगायत केही सदस्यले मोटो रकम लिएर जग्गा भाडामा दिने प्रयास गरेको समाचार आएपछि राष्ट्रिय खेलकुद परिषद्ले सिफारिस खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्