काठमाडौं: ‘म आन्टीको घरमा बस्थेँ। उहाँकी सानी छोरी बिरामी भई। आइतबार राती आन्टीले आमालाई बोलाउनुभयो। आमा आएपछि तैँले बोक्सी लगाइस् भन्दै मलाई कुट्न थाल्नुभयो। आमाकै अगाडि काम्दै तातो पन्यूँले डाम्नुभयो। मैले हारगुहार गरेँ। आमाले पनि केही भन्नु भएन। मलाई कसैले बचाएनन्।’ यो कुनै कथाको पात्रको भनाई होइन। सुर्खेत वीरेन्द्रनगर २ की १८ वर्षीया अमृता वुढाको पीडा हो।
बोक्सी आरोपमा आफन्तबाटै उनीमाथि मरणासन्न हुनेगरी कुटपिट भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ। उनलाई शरीरभरी तातो पन्यूँले डामिएको छ। अझ परिवारले नै यसको कानुनी उपचार खोज्न चाहेको छैन। एक सातासम्म गुपचुप राखिएको घटना शुक्रबार बल्ल सार्वजनिक भएको छ।
पीडित किशोरीकै आमा समेत घरभित्रको कुरा भन्दै घटनालाई सामान्यीकरण गर्न लागिरहेकी छन्। तर किशोरीले भने न्याय मागेकी छन्। घाइते अमृताले आफूमाथि अत्याचार भएको बताइन्।