चीनले पेट्रोलियम अन्वेषण गर्दा दैलेखमा अर्कै उत्साह



दैलेख : दैलेखमा तेलको खानी रहेको चर्चा आजको होइन । त्यहाँ बग्ने पानी तथा नदीहरुमा तेलको मात्रा पानीमाथि तैरिएर रहने गरेकाले स्थानीय जनता पनि दैलेखमा तेल खानी रहेकोमा विश्वस्त देखिन्छन् ।

पछिल्लो समयमा छिमेकी देश चीनको सहयोगमा त्यहाँ पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको छ । आवश्यक प्रविधि र प्राविधिक टोलीसहित चिनियाँ अन्वेषण ग्रुप त्यहाँ पुगेको छ । पेट्रोलियम पदार्थ रहेको बढी सम्भावना भएका शीरस्थान, नाभिस्थान, धुलेश्वर, पादुकालगायतका क्षेत्रमा अहिले विस्तृत अन्वेषणको काम चलिरहेको छ ।

अन्वेषणपूर्व नै स्थानीयहरुले पानीमा पेट्रोलियम पदार्थ तैरिरहेको र गहिरा सागर परेका अगुफाहरुमा प्राकृतिक रुपमै आगोको ज्वाला बलिरहेकाले पनि यी क्षेत्रहरुमा पेट्रोलियम पदार्थको भण्डार रहेको विश्वास गरिएको छ । लामो समयदेखि चर्चापरिचर्चा चलिरहे पनि केपी शर्मा ओली सरकारले मात्र यसमा चासो देखाई चिनियाँ सरकारलाई अनुसन्धानका लागि आग्रह गरेका थिए ।

२०६२ सालभन्दा पहिल्यै खोजी कार्य गर्दा त्यतिबेलाका तीनवटा कम्पनीहरुले ७० लाख अमेरिकी डलर खर्च गरिसकेका छन् । पछिल्लो पटक तात्कालिन उद्योगमन्त्री सोमप्रसाद पाण्डेको अग्रसरतामा नेपाल र चीन सरकारबीच ‘जीटुजी’ सम्झौता भएपछि पेट्रोलियम अन्बेषणले तीव्रता पाएको हो ।

हाल नेपालको खानी तथा भूगर्भ विभाग र चीनको ‘चाइना जिओलोजिकल सर्भे’ कम्पनीबीच २ अर्ब ४० करोडको लागतमा अन्वेषण भइरहेको छ । हाल तालीम दिइएका एक सय जना कामदारमध्ये ७० जना स्थानीय रहेका छन् । अहिलेको अनुमानमा जमिनमुनि ५ किलोमिटरसम्म ‘ड्रिलिङ’ गर्नुपर्ने छ ।

पहाडी तथा भिरालो भाग भएकाले अन्वेषणको काम चार चरणमा हुने छ । त्यसका लागि आवश्यक पर्ने नक्सालगायतका आवश्यक सामग्री पनि तयारी अवस्थामा राखिएको छ । टोलीले मिनमुनि करिव ५ देखि २० किलोमिटरसम्म अध्ययन गर्ने छ ।

नेपालमा यसअघि गरिएको पेट्रोलियम अन्बेषणमा काठमाडौं उपत्यकामा सफलता हात परिसकेको छ । उत्खनन् कार्य मात्र बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्