उपनिर्वाचन : नेकपालाई जोगाउन गाह्रो, कांग्रेसलाई भत्काउनै सकस



काठमाडौं : रिक्त रहेको स्थानमा यहि शनिबार १४ गते उपनिर्वाचन हुँदैछ । यसले गर्दा ती उपनिर्वाचन हुने स्थानमा अहिले चुनावी माहौलले छपक्कै छोपेको छ । यो उपनिर्वाचनमा प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नम्बर दुई तथा प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क), बागलुङ २ (ख) र दाङ ३ (ख) मा उपचुनाव हुँदैछ । यस्तै, पालिकाअन्तर्गत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ पदका लागि १४ गते नै उपचुनाव हुन लागेको हो । उपचुनावको लागि आवश्यक सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा कास्की क्षेत्र नं. २
यसरी उपनिर्वाचन हुन लागेको स्थानमध्ये प्रनिनिधिसभा कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचन बढी महत्वका साथ हेरिएको छ । यस क्षेत्रका प्रतिनिधि रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि उक्त क्षेत्र खाली रहेको थियो । अहिले उक्त क्षेत्रमा सत्तारुढ दल नेकपाले रवीन्द्रपत्नी विद्या भट्टराईलाई उठाएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । ०७४ को निर्वाचनमा नेकपाले जितेको यस क्षेत्रमा फेरी जित्ने दाबी नेकपाले गरेको छ भने कांग्रेसले यसपटक जसरी पनि जित्नुपर्ने भन्दै आएको छ । यसरी यहाँ यी दुई दलबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

विवेकशील साझाको उम्मेदवार रजनी केसीले पनि त्यहाँ आफ्नो चुनावी प्रचारलाई तीव्रता दिएकी छन् । उनले आफूलाई नेकपा र का्रंग्रेसको विकल्पको रुपमा हेर्न मतदातासामु आग्रह गरिरहकी छन् ।

गएको निर्वाचनमा नेकपाका उम्मेदवार रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए । त्यसबेला अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेको तथ्यांक छ । कुल ४९ हजार ९ सय १४ मत खसेको थियो । खसेका मतमध्ये १ हजार ४ सय ६४ मत बदर भएका थियो । १ स्वतन्त्रसहित १३ जना उम्मेदवार भए पनि ११ जनाको जमानत जफत भएको थियो । तेस्रो बनेको विवेकशील साझाले ८ सय ४३ मत ल्याएको थियो ।

भक्तपुर क्षेत्र नं. १(क)
यस प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । तद्यापी भक्तपुरलाई आधार बनाएर राजनीति गरिरहेको नपाल मजदुर किसन पार्टी पनि यस क्षेत्रमा बलियो देखिएका छन् ।

यसअघिका प्रदेशसभास दस्य हरिशरण लामिछानेको निधन भएपछि रिक्त रहेको यस स्थानमा सत्तारुढ दल नेकपाले देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले कृष्णलाल भँडेललाई उम्मेदवार बनाएको छ । यस क्षेत्रलाई आधार बनाएर राजनीति गरिरहेको नेमकिपाले निरज लवजूलाई दोहोर्याएर उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा कुल मतदाता ४३ हजार ५ सय ५२ थिए । तीमध्ये ३२ हजार ८ सय ३८ मत खसेको थियो । यसमा ८ सय ७५ मत बदर भएको थियो । निर्वाचित सांसद लामिछानेले १२ हजार ७ सय ८९ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत प्राप्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीका निरज लबजूले ७ हजार १९ मत ल्याएर तेस्रो भएका थिए । यहाँ त्रिपक्षीय भिडन्त हुने देखिन्छ ।

बागलुङ २(ख)
प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको जण्डिसका कारण निधन भएपछि खाली रहेको बागलुङ निर्वाचन क्षेत्र २ मा पनि नेकपा र नेपाली कांग्रेसकै उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । नकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले उम्मेदवार भएका छन् भने नेपाली कांग्रेसका तर्फबाट जीतबहादुर शेरचन उम्मेदवार रहेका छन् ।

अघिल्लो निर्वचनमा वामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सांसद घर्तीले ११ हजार ८ सय ८४ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका जित शेरचनले ८ हजार ६ सय २४ मत ल्याएका थिए । त्यतिबेला त्यहाँ ३३ हजार २ सय ४० कूल मतदाता थिए । सो क्षेत्रमा अहिले पनि नेकपाले वामगठबन्धनले नै जित्ने दाबी गरिएको छ । भने नेपाली कांग्रेसले पनि आफूले जित्ने दाबी गरिरहेको छ ।

दाङ क्षेत्र नं.३ (ख)
यस निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको क्षेत्रमा निर्वाचन हुन लागेको छ । यस निर्वाचन क्षेत्रमा पनि सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

यस निर्वाचन क्षेत्रमा नेकपाले स्व. वली पत्नी कमला वलीलाई उममेदवार बनाएको छ भने नेपाली कांग्रेसले केशव आचार्यलाई उम्मेदवार बनाएको छ । यसअघि प्रदेशसभा निर्वाचनमा वलीले २३ हजार ९ सय ७० मत प्राप्त गरेर चुनाव जितेका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५ सय ३५ मत पाएका प्राप्त गरेका थिए ।

त्यतिबेला उक्त क्षेत्रमा ६५ हजार ८ सय २ मतदाता रहे पनि ४४ हजार ६ सय ५१ मत मात्र खसेको थियो । जसमा सदर मत ४२ हजार ६ सय ४९ थियो भने बदर मत २ हजार २ थियो । यो क्षेत्रमा पनि उपनिर्वाचनमा भाग लिएका नेकपा र कांग्रेसको उम्मेदवारले आ–आफूले जित्ने दाबी गरिरहेका छन् ।

धरान उपमहानगरपालिका
मेयर तारा सुब्बाको निधन भएपछि रिक्त रहेको यस स्थानमा पनि निर्वाचन हुँदैछ । यहाँ पनि सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले तिलक राईलाई उम्मेदवार बनाएको छ । लामो समय लालकिल्लाको रुपमा हरेको यस क्षेत्रमा नेपाली कांग्रेसले जसरी पनि लालकिल्ला तोड्ने बताइरहेको छ । तद्यापी यस क्षेत्रमा लामो समयदेखि आफ्नो विरासतको रुपमा रहेकोले निरन्तरता हुनेमा नेकपा देखिन्छ । गएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएर कांग्रेसका तिलक राईलाई पराजित गरेका थिए । राईले १६ हजार १ सय २ मत प्राप्त गरेका थिए । त्यतिबेला ७९ हजार २ सय ८२ कुल मतदाता भए पनि ५३ हजार ८ सय १२ मत खसेको थियो । त्यसबेला माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत पाएका थिए । त्यसबेला माओवादी केन्द्रले संघीय समाजवादीसँग गठबन्धन गरेको थियो ।

यी स्थानमा पनि उपनिर्वाचन हुँदैछ
पाँचथरको फाल्गुनन्द, सङ्खुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि र हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपचुनाव हुँदैछ । रिक्त ४३ वडाध्यक्षमध्ये महोत्तरीको मटिहानी नगरपालिका–६ का वडाध्यक्षले राजीनामा गरेका थिए भने विभिन्न पालिकाका सातजना वडाध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएका थिए ।

जिल्ला समन्वय समितिमा निर्वाचित भएका कारण रिक्त रहेका वडामा सप्तरीको छिन्नमस्ता गाउँपालिका–७, लमजुङको सुन्दरबजार नगरपालिका–२, बागलुङको बडीगाड गाउँपालिका–२, प्यूठानको ऐरावती गाउँपालिका–१ र २, सल्यानको कुमाख गाउँपालिका–५ र कञ्चनपुरको पुनर्वास नगरपालिका–३ छन् ।

अरु वडामा भने यसअघिका वडाध्यक्षको निधन भएपछि उपचुनाव हुन लागेको हो । उपचुनाव हुने अरु वडाहरुमा पाँचथरको फिदिम नगरपालिका–१ र हिलिहाङ गाउँपालिका–७, भोजपुरको पौवादुङमा गाउँपालिका–१, मोरङको धनपालथान गाउँपालिका–२, सुनसरीको धरान उपमहानगरपालिका–७, सङ्खुवासभाको खाँदबारी नगरापालिका–३, खोटाङको साकेला गाउँपालिका–३, सिरहाको कल्याणपुर नगरपालिका–१२, महोत्तरीको बलवा नगरपालिका–२ र ८, सर्लाहीको हरिपुर्वा नगरपालिका–१, रौतहटको गढिमाई नगरपालिका–२, बाराको बारागढी गाउँपालिका–१, पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, रामेछापको उमाकुण्ड गाउँपालिका–५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२, काठमाडौंको दक्षिणकाली नगरपालिका–३, चितवनको भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिका–४ र ५ छन् ।

यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका–५, गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६, अर्घाखाँचीको मालारानी गाउँपालिका–३, प्यूठानको प्यूठान नगरपालिका–२, रोल्पाको थवाङ गाउँपालिका–१, दाङको घोराही उपमहानगरपालिका–१६, बाँकेको कोहलपुर नगरपालिका–६, बाजुराको त्रिवेणी नगरपालिका–१, अछामको मेल्लेख गाउँपालिका–५, डोटी आदर्श गाउँपालिका–२, बैतडीको पुर्चौडी नगरपालिका–४, सुर्नया गाउँपालिका–१ र दोगडाकेदार गाउँपालिका–४ तथा कपिलवस्तुको शिवराज नगरपालिका–१० को वडाध्यक्षको लागि पनि उपचुनाव हुँदैछ ।

यसैगरी आज (बुधबार) राति १२ बजेदेखि मौन अवधि शुरु हुनेछ । मतदान हुने समयभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुने निर्वाचन निर्देशिकामा उल्लेख गरिएको छ ।

मौन अवधि शुरु भएपछि उम्मेदवारको पक्ष वा विपक्षमा कुनै किसिमको प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधिमा वेबसाइट तथा कुनै पनि सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्