साग खेलकुद : उदघाटन भव्य बनाउन यस्तो छ तयारी



काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता सुरु हुन ४ दिन मात्र बाँकी छ । २० वर्ष पछि नयाँ संस्करणमा हुन लागेको साग प्रतियोगिता नेपालमा १० दिनसम्म चल्ने छ । नेपालमा हुने साग प्रतियोगिता संघीय राजधानी काठमाडौं, ललितपुर, गण्डकी प्रदेशको राजधानी पोखरा र २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुर गरी चार स्थानमा खेलकुद प्रतियोगिता हुनेछ । नेपालले सुरु गर्न लागेको नेपाल भ्रमण वर्ष–२०२० लाई समेत ध्यानमा राखेर साग प्रतियोगिता काठमाडौं बाहिर पनि गर्ने निर्णय गरिएको छ । सुरुमा साफ खेलकुदबाट चिनिएको यो प्रतियोगिता पछिल्लो पटक साग खेलकुद प्रतियोगितामा परिणत भएको हो ।

यो प्रतियोगीता हरेक २-२ वर्षमा हुने भएता पनि दक्षिण एसियाली सहयोग संगठन (सार्क) का देशहरु बीच आवश्यक समन्वय अभावका साथै विभिन्न कारणले २० वर्षमा ४ पटक मात्र भएको छ । दक्षिण एशियाली राष्ट्रहरुबीचको खेलकूद क्षेत्रकोे सबैभन्दा ठूलो प्रतियोगिता यही मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुदैंछ । यसपटक काठमाडौं, ललितपुर, कास्की र धनुषा जिल्लाका ३० खेलस्थलमा २६ खेल सञ्चालन हुनेछ । काठमाडौँको १२, ललितपुरको ९ र पोखराको आठ तथा जनकपुरको एक स्थानमा खेल हुने छ ।

साग खेलकुदका लागि मैदान अहिले दुलही झै सिंगारिने काम भएको छ । अघिल्ला दिन धुरोमैलो देखिने सडक र भित्ता रातारात पिच सहित रंगरोगन गरी चिटिक्क पारिएको छ । साधारण प्यारापिटमा बत्ती राखेर झिलिमिली पारिएको छ । कतिपय संरचना धमाधम निर्माण भइरहेका छन् भने कति निर्माण भैसकेका छन् । यस पटकको खेलमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराँते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङ समावेश गरिएको जनाइएको छ । अन्तिम समयमा प्याराग्लाइडिङ खेललाई हटाइएको छ ।

सागमा १८ हजार सुरक्षाकर्मी
प्रतियोगितामा भाग लिन विदेशी खेलाडी आउने क्रम जारी भएसँगै सुरक्षाको तयारी पनि पुरा भएको छ । साग खेलकूद आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा बनेको साग सुरक्षा समन्वय समितिले चुस्त सुरक्षा व्यवस्था मिलाएको छ ।

‘शान्ति, मित्रता र समृद्धि’को नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई ऐतिहासिक र अविस्मरणीय बनाउन उक्त समितिले खेलकूद विशेष सुरक्षा योजना बनाएर आवश्यक सुरक्षाकर्मी परिचालन गरिसकेको छ । यसपटकको साग सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धानका १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुँदैछन ।

नेपाल प्रहरीबाट मात्रै १० हजार बढी सुरक्षाकर्मी परिचालन हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। सुरक्षाका लागि जिल्लाबाट समेत प्रहरी झिकाइएको छ ।

साग सुरक्षामा सशस्त्र प्रहरीको तर्फबाट मात्रै पाँच हजार बढी खटाइने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठले जानकारी दिए । तीन हजार बढी नेपाली सेना खटिनेछन् । धेरै खेलाडीको सहभागिताले उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौतीपूर्ण रहने विश्लेषण गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले खेलकै लागि ७०० ट्राफिक प्रहरी खटाएर यातायात व्यवस्थापन गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

कुन कुन देश सहभागी
सागमा आयोजक राष्ट्र नेपालसहित भारत, पाकिस्तान, बाङ्गलादेश, माल्दिभ्स र भुटानले सहभागिता जनाउने छन् । साग खेलकुद प्रतियोगितामा सार्क राष्ट्र अफगानिस्तानले सहभागी नहुने जनाएको छ । भारत र पाकिस्तानले क्रिकेट र फुटबल खेलमा सहभागिता नजनाउने बताए पनि अन्य खेलमा सहभागी हुने छन् ।

कति खेलाडी सहभागी हुदैंछन् ?
खेलमा नेपाली ६४८ सहित तीन हजार २२८ खेलाली सहभागी हुने जनाइएको छ । सागका ९ खेल पोखरा, १ खेल जनकपुर र बाँकी खेल काठमाडौँ तथा ललितपुरमा हुनेछन् । नेपालले सबै खेलमा सहभागिता जनाउने छ । खेलमा आयोजक प्रतिनिधि, निर्णायक मण्डलसहित दुई हजार २०९ जना सहभागी हुने छन् । दुई हजार स्वयंसेवक परिचालन हुने जनाइएको छ । सागमा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।

साग खेलकुद प्रतियोगिताको उद्घाटन दशरथ रगंशालामा
सागको उद्घाटन काठमाडौंस्थित दशरथ रंगशालामा राष्ट्रपतिले विद्यादेवी भण्डारीद्वारा विशेष समारोहबीच महादेशीय खेलकुदको महाकुम्भ सागको उद्घाटन हने छ । तीनघण्टा १४ मिनेट लामो उद्घाटन सत्रमा नेपालले आफ्नो देशको सबै कला प्रस्तुत गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताए ।

संघीय नेपालको सातवटै प्रदेशको कला, संस्कृति र विविधतालाई उद्घाटन सत्रमा देखाइने छ । १५ हजार कलाकारले दशरथ रंगशालामा गित संगित सहितको विशेष प्रस्तुती दिनेछन् । उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष मन्तब्य राख्ने बताइएको छ । उद्घाटन सत्रमा सागमा सहभागी सातै देशका खेलाडी र पदाधिकारीले मार्चपास गर्नेछन् । उद्घाटनमा सात राष्ट्रका सरकारका विशेष प्रतिनिधि र खेलसम्बद्ध पदाधिकारीको समेत उपस्थिति रहनेछ ।

खेल हेर्न टिकट कति लाग्छ ?
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले साग खेल अन्तर्गत फुटबलसहित ४ खेलको टिकट मूल्य निर्धारण गरेको छ । राखेपले फुटबलसहित भलिबल, बास्केटबल र क्रिकेट खेलका लागि टिकट निर्धारण गरेको हो ।

सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ भने भलिबल र बास्केट बलको टिकट मूल्य ५ सय राखिएको छ । क्रिकेटको टिकट मूल्य २ सयदेखि ५ सयसम्म पर्नेछ । समूह चरणको खेलका लागि २ सय र सेमिफाइनल र फाइनलका लागि ५ सय टिकट मूल्य राख्ने तयारी गरिएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । अन्य खेलको पनि टिकट मूल्य छिट्टै सार्वजनिक हुने बताइएको छ ।

कुन खेल कहाँ र कहिले ?
आर्चरी – मंसिर १९ देखि २३ गतेसम्म पोखरामा,
एथलेटिक्स – १७ गतेदेखि २१ गतेसम्म दशरथ रंगशालामा,
बास्केटबल – १९ गतेदेखि २४ गतेसम्म राखेप कभर्ड हलमा,
ब्याडमिन्टन – मंसिर १५ गतेदेखि २० गतेसम्म पोखरामा,
बक्सिङ – २० गतेदेखि २४ गतेसम्म सातदोबाटोमा,
पुरुष क्रिकेट – १७ गतेदेखि २४ गतेसम्म कीर्तिपुरमा,
महिला क्रिकेट – १६ गतेदेखि २३ गतेसम्म पोखरामा,
साइक्लिङ – १७ गतेदेखि २१ गतेसम्म गोकर्णमा,
फेन्सिङ – २० गतेदेखि २३ गतेसम्म कीर्तिपुरमा,
पुरुष फुटबल – १६ गतेदेखि २४ गतेसम्म दशरथ रंगशालामा,
महिला फुटबल – १७ गतेदेखि २४ गतेसम्म पोखरामा,
गल्फ – १६ गतेदेखि २० गतेसम्म गोकर्णमा,
ह्यान्डबल – १८ गतेदेखि २३ गतेसम्म पोखरामा,
जुडो – २१ गतेदेखि २४ गतेसम्म लगनखेलमा,
कबड्डी – १८ गतेदेखि २३ गतेसम्म हल्चोकमा,
कराँते – १५ गतेदेखि १८ गतेसम्म सातदोबाटोमा,
खोखो – १५ गतेदेखि १८ गतेसम्म कीर्तिपुरमा,
सुटिङ –१७ गतेदेखि २२ गतेसम्म सातदोबाटोमा,
स्क्वास – २० गतेदेखि २४ गतेसम्म सातदोबाटोमा,
पौडी – १९ गतेदेखि २३ गतेसम्म सातदोबाटोमा,
तेक्वान्दो – १६ गतेदेखि १९ गतेसम्म सातदोबाटोमा,
टेबलटेनिस – १६ गतेदेखि २० गतेसम्म लैनचौरमा,
टेनिस – १६ गतेदेखि २३ गतेसम्म सातदोबाटोमा,
ट्रायथलन – १६ गतेदेखि १८ गतेसम्म पोखरामा,
भलिबल – ११ गतेदेखि १७ गतेसम्म राखेप कभर्डहलमा,
बीच भलिबल – १९ गतेदेखि २२ गतेसम्म पोखरामा,
भारोत्तलन – १९ गतेदेखि २२ गतेसम्म पोखरामा,
उसु –१६ गतेदेखि १९ गतेसम्म लगनखेलमा,
कुस्ती –२० गतेदेखि २३ गतेसम्म जनकपुरमा,

बजेट कति ?
सागमा पूर्वाधार निर्माणका लागि १ अर्ब ६२ करोड र प्रतियोगिता आयोजनका लागि ३ अर्ब ६५ करोड रुपैयाँ निकासा भएको छ ।

कहाँ बस्छन् खेलाडीहरु ?
दक्षिण एसियाली खेलकुद (साग) नजिकिएसँगै विदेशबाट खेलाडी र पदाधिकारीहरु आउने क्रम सुरु भइसकेको छ । सहभागी राष्ट्रका खेलाडीका लागि आवास, सुरक्षा, यातायात जस्ता विषयहरु महत्वपूर्ण हुन्छ ।

काठमाडौंमा हुने खेलमा सहभागी खेलाडीहरुको बसोवासका लागि धेरै जसो होटलहरु ठमेलमा बुक गरिएका छन् ।खेलाडीसहितका पाहुना राख्न युवा तथा खेलकुद मन्त्रालयले ४ जिल्लामा ८३ होटल बुक गरिसकेको छ । यद्यपि पाहुनाको चाप हेरेर बुक भएका होटल संख्या तलमाथि पर्न सक्ने मन्त्रालयले जनाएको छ । साग अवधिभर करिव चार सय सवारी साधानहरु आवश्यक पर्ने समितिको अनुमान छ । यसका लागि समितिले ४ वटा ट्राभल एजेन्सीसँग सहकार्य हुर्दैछ ।

कसरी सुरु भएको थियो साग
दक्षिण एसियाली देशले एसियाली खेलकुद र ओलम्पिक मात्र खेल्ने भएकाले आपसी सम्बन्ध बलियो हुन नसकेको राष्ट्रिय खेलकुद परिषद्का तत्कालिन सदस्यसचिव शरदचन्द्र शाहको तर्क थियो ।

खेलकुद परिषद्मा लामो समय नेतृत्व गरेका शाहले सार्क क्षेत्रका देशबीचको सम्बन्धलाई मजबुत पार्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता गर्नु पर्ने अवधारणा राखेका थिए । लामो छलफलपछि सन् १९८२ नोभेम्बरमा दक्षिण एसियाली खेलकुद महासंघ स्थापना गरियो ।

महासंघमा सुरुमा पाँच देश नेपाल, भारत, पाकिस्तान र श्रीलंका मात्र सदस्य थिए । पछि भुटान र माल्दिभ्सले पनि सदस्यता लिए । दक्षिण एसियाली खेलकुल महासंघ स्थापन भएको दुई वर्षपछि पहिलो संस्करणको प्रतियोगिता आयोजना भएको थियो ।

सन् १९८४ मा काठमाडौंबाट सुरु भएकोे साग १३ औं संस्करणसम्म आइपुग्दा नेपालले तेस्रो पटक आयोजनाको जिम्मेवारी पाएको हो । सन् १९८४ मा पहिलोपटक नेपालबाट सागको सुरुआत भएको हो । सन् १९९९ मा तेस्रो संस्करणको आयोजनापछि यसपटक नवौँ संस्करण नेपालमा आयोजना भएको हो ।

प्रतिक्रिया दिनुहोस्