‘इमल्सन प्लान्ट’ले आफ्नो उत्पादन दोब्बर गरेसँगै बिस्फोटक पदार्थमा नेपाल आत्मनिर्भर



काठमाडौं : मकवानपुरस्थित इमल्सन प्लान्टले अति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन) उत्पादन दोब्बर गर्नथालेसँगै नेपाल अब बिष्फोटक पदार्थमा परनिर्भर हुने अवस्थाको अन्त्य भएको छ । विकास निर्माणका ठूला आयोजनाहरु पूरा गर्नका लागि आवश्यक बिस्फोटक पदार्थमा नेपाल आत्मनिर्भर हुने भएपछि यसको आयातका लागि छिमेकी देशहरुमा गरिने करोडौं डलरको लगानी जोगिने भएको छ ।

विकासनिर्माणका क्रममा नेपालले नेपाली सेनामार्फत् बिष्फोटक पदार्थ प्रयोग गर्दै आएको छ । ठेकेदार तथा सर्वसाधरणको हातमा नदिइएको यो बिष्फोटक पदार्थ ठूला जलविद्युत् आयोजना र सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानी भीर तथा पहराहरु फोर्नका लागि प्रयोगमा ल्याइएको छ ।

हालसम्म नेपाली सेनाले प्रयोगमा ल्याइरहेको विष्फोटक इमल्सन मकवानपुरस्थित सुनचरीमा नेपाल सरकार तथा नेपाली सेनाको सहकार्यमा सञ्चालित छ । उक्त प्लान्ट ५० करोड रुपैयाको लागतमा स्थापना गरिएको हो ।

सुरु लागत केही महंगो भएकाले चीन र भारतबाट आयात गरिने इमल्सनभन्दा यो केही महंगो हुन पनि गएको छ । हालसम्मको दररेटअनुसार छिमेकी देशहरुबाट प्रतिकेजी रु. १९० मा खरिद र प्रयोग भैरहेको इमल्सन आफ्नै नेपाली उत्पादनमा भने प्रतिकेजी रु. १९८ पर्ने गरेको छ ।

विसं २०६० मा स्थापना भएको पुरानो ‘सिंगलबेस प्रोपेलेन्ट प्लान्ट’ ले वार्षिक एक हजार २०० मेट्रिक टन बिष्फोटक उत्पादन गर्दै आएको थियो भने हालै स्थापना गरिएको नयाँ ‘डबलबेस प्रोपेलेन्ट प्लान्ट’ले यसको दोब्बर मात्रामा उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्