संस्कृत भाषा ‘कोमा’ मा



दोलखा: चिटिक्कको भवन, वरिपरि भूकम्पलगत्तै बनाइएका अन्य अस्थायी भवन छन्। तीमध्ये एउटा भवनको झ्यालका बीचमा झुन्ड्याइएको छ– हिलेपानी संस्कृत माध्यमिक विद्यालयको साइनबोर्ड। बोर्डको माथिल्लो लहरमा लेखिएको छ–‘सरस्वती नः सुभगा मयस्करत्’ अर्थात् सरस्वतीले हामीलाई समग्र किसिमको ऐश्वर्यशाली बनाऊन् ।

 

दोलखा कालिञ्चोक गाउँपालिका–४ लामिडाँडास्थित संस्कृत विद्यालयको यही आँगनमा केही वर्षअघिसम्म दैनिक प्रार्थनामा विद्याकी देवी सरस्वतीको उपासना गरिन्थ्यो। कक्षा ६ देखि १० सम्म संस्कृत विषय पढाइ हुन्थ्यो। विद्यार्थीले अनिवार्य संस्कृतसहित ज्योतिष, साहित्य, व्याकरण, आयुर्वेद, नीतिशास्त्रजस्ता ऐच्छिक विषय लिएर पढ्थे। बर्सेनि सातआठ सय हाराहारीमा विद्यार्थी हुन्थे ।

 

जिल्लाकै एकमात्र संस्कृत माविमा यतिखेर न त सरस्वती वन्दना गाइन्छ, न पहिलेजस्तै कक्षाकोठामा संस्कृतका पाठ्यपुस्तक पढाइ हुन्छ । अहिले विद्यालयमा नेपाली भाषाको जननी र पूर्वीय ज्ञानको भण्डार रहेको संस्कृत पठपाठन बन्द रहेको नागरिकमा खवर छ ।

 

‘दुई वर्षअघिसम्म विद्यालयको पाठ्यक्रममा ६ देखि १० कक्षासम्म अनिवार्य संस्कृत र मावि तहमा ज्योतिष, साहित्य र व्याकरण पढाइ हुन्थ्यो’, विद्यालयका प्रधानाध्यापक रामलाल पन्थीले भने, ‘विद्यालय व्यवस्थापन समितिको निर्णयबाट अघिल्लो शैक्षिक सत्रदेखि संस्कृतबाहेक साधारणतर्फका पाठ्यक्रमअनुसारका पठनपाठन खुला गरियो।’

 

अहिले विद्यालयमा ६ देखि ९ कक्षासम्म संस्कृत विषय लिने विद्यार्थी एकजना पनि छैनन् । ‘१० कक्षाका विद्यार्थीले चाहिँ संस्कृत पढिरहेका छन्’, उनले भने, ‘आगामी शैक्षिक सत्रदेखि यो विषय पढ्ने विद्यार्थी पाउन मुस्किल छ।’  जिल्लाकै एकमात्र संस्कृत माविमा यतिखेर न त सरस्वती वन्दना गाइन्छ, न पहिलेजस्तै कक्षाकोठामा संस्कृतका पाठ्यपुस्तक पढाइन्छ। नेपाली भाषाको जननी र पूर्वीय ज्ञानको भण्डार संस्कृत पठपाठन बन्द छ।

 

२०३१ सालमा स्थापित यो विद्यालयले २०४८ सालमा संस्कृत माविको अनुमति लिएको थियो। गाउँमा संस्कृत शिक्षाका अगुवा थिए स्थानीय मुक्तिनाथ घिमिरे। पहिले प्राथमिक तहसम्म मात्र पढाइ हुने विद्यालयले उनकै पहलमा संस्कृत शिक्षकको दरबन्दीसहित माविको स्वीकृति पाएको थियो ।

 

जिल्लाकै एकमात्र संस्कृत विद्यालयमा दरबन्दी आएपछि धमाधम शिक्षक विद्यालयमा खटिए । त्यतिबेलै खटिएका प्रधानाध्यापक पन्थीले ज्योतिष पढाउन थाले। मित्रप्रसाद भण्डारीले व्याकरण, पर्शुराम लामिछानेले साहित्य, रामकुमार केसीले संस्कृत भाषा अध्यापन गराए। आयुर्वेद पढाउने शिक्षक नपाएपछि विद्यालयका अगुवा घिमिरे आफैंले स्वयंसेवकका रूपमा तीन वर्ष आयुर्वेद पढाए ।

 

त्यसयता २०५८ सम्म विद्यालयमा नियमित संस्कृत कक्षा चल्थ्यो। ‘अनिवार्य संस्कृत भाषाबाहेक व्याकरण, साहित्य, आयुर्वेद, ज्योतिषजस्ता विषय लिएर पढ्न विद्यार्थीबीच प्रतिस्पर्धा चल्थ्यो’, २५ वर्षदेखि विद्यालयमा कार्यरत प्रधानाध्यापक पन्थीले अनुभव सुनाए ।

 

माओवादीको सशस्त्र विद्रोह चर्किंदै जान थाल्यो। तत्कालीन विद्रोही माओवादीले संस्कृत विद्यालय मास्ने अभियान चलाए। त्यतिबेला माओवादीहरूले निहित स्वार्थका लागि संस्कृतमाथि आक्रमण गरेका थिए । दक्षिण एसियामा बोलिने नेपाली, हिन्दी, बंगाली, मैथिली, भोजपुरीलगायतका अनेकन् भाषाको जननी संस्कृत भाषामा पठपाठन गराउन चाहने अभियन्ता विद्रोहीका अगाडि निरीह बने ।

प्रतिक्रिया दिनुहोस्