साढे दुई लाख घुससहित वडा सदस्य समातिए



काठमाडौं:  उद्योग दर्ताका लागि सिफारिस गर्न २ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वडा सदस्यलाई रंगेहात पक्राउ गरेको छ ।

 

बर्दिया राजापुर नगरपालिका–१० का वडा सदस्य उत्तम चौधरीले क्रसर उद्योग दर्ता गर्न सिफारिस र सहयोग गर्ने भन्दै घुसबापत लिएको रकमसहित चौधरी पक्राउ परेका हुन् । आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले चौधरीलाई घुस लिइसकेको अवस्थामा २ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

 

अख्तियारका प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले घुसबापतको रकम लिइसकेको अवस्थामा बर्दिया कोठियाघाटस्थित इच्छा होटलबाट बुधबार पक्राउ परेका चौधरीबारे थप अनुसन्धान भइरहेको बताए ।

 

यसैबीच, अख्तियारले नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखा मूलपानीका हेल्पर हस्तबहादुर थापा मगर, काले थापा मगर र ज्यालादारीमा काम गर्दै आएका विदुर पुडासैनीलाई जग्गाबाट बिजुलीको तार हटाइदिने प्रयोजनका लागि लिएको १५ हजार घुससहित पक्राउ गरेको राजधानीमा खवर छ ।  

प्रतिक्रिया दिनुहोस्