सन् २०१८: बन्दुक नपड्किएको युद्धको बढी त्रास



काठमाडौं: वर्ष सन् २०१८ मा विश्वमा पुराना प्रवृत्तिहरू नयाँ ढंगले देखा परे । विश्व राजनीतिक रंगमञ्चमा नयाँ खेलाडीहरूको प्रदर्शन चर्चाको विषय बन्यो भने अघिल्लो वर्ष सन् २०१७ का विभिन्न घटनाक्रमबाट सिर्जित परिस्थितिको प्रभाव सन् २०१८ मा पनि देखाप¥यो ।

 

कतिपय घटनाक्रमले सन् २०१९ मा समेत दरिलो प्रभाव जमाउने कुरामा शंका छैन । सन् २०१८ मा अघिल्लो वर्षमा रहेका कतिपय विषयले नयाँ मोड लिए भने कतिपयको पुरानो गतिमा परिवर्तन देखिएन । सन् २०१७ भरी संसारको टाउको दुखाइको विषय बनेको उत्तर कोरियाको आणविक कार्यक्रम सन् २०१८ भरी नै सुनसान बन्यो ।

 

उत्तर कोरिया र अमेरिकाबीच पहिलोपटक उच्चस्तरीय वार्ता, कोरियाली प्रायद्वीपमा गत १ जनवरीबाट नै देखिएको वार्ता र संवादको प्रक्रियाले निरन्तरता पाएर सम्बन्धमा नयाँपन आएको छ । यसलाई कोरियाली प्रायद्वीपमा करिब ७० वर्षदेखि रहेको दुस्मनीपूर्ण सम्बन्ध अन्त्य गर्ने मार्गमा सकारात्मक परिदृश्यका रूपमा लिन सकिन्छ । सन् २०१८ विभिन्न घटनाक्रम र तिनका प्रवृत्तिगत विशेषताका आधारमा खास बन्यो ।

 

अमेरिका र चीनबीच देखिएको व्यापार तथा प्रविधिको युद्ध, पश्चिमा शक्ति राष्ट्र र रुसबीचको कूटनीतिक तथा साइबर संघर्ष, पश्चिम एसियाली राष्ट्रमा देखा परेको युद्धको समस्या, साउदी पत्रकार जमाल खसोग्गीको हत्या आदि विषयले विश्व राजनीतिक रंगमञ्चमा राम्रै स्थान पाए ।

 

युद्धको नयाँ प्रवृत्ति (व्यापार, साइबर र बंकर)

सन् २०१८ युद्धको नयाँ प्रवृत्तिको वर्ष बनेर देखा पर्यो । बन्दुक नै बोकेर ठूला राष्ट्र आपसी रूपमा युद्धको मैदानमा देखा नपरे पनि यी शक्तिराष्ट्रबीचको संघर्ष नयाँ रूपमा देखा प¥यो । एकातिर शक्तिराष्ट्रहरू विभिन्न देश तथा सामरिक महत्व क्षेत्रमा विभिन्न युद्धका परिघटनामा सामेल भए भने अर्कोतिर विश्वमा शक्तिराष्ट्रबीच प्रविधि र व्यापारमा ठूलो युद्ध चल्यो ।

 

चीन र अमेरिकाबीच करिब ९० दिन चलेको व्यापार युद्धले विश्वव्यापी तरंग पैदा ग¥यो । सन् २०१७ मा नै चिनियाँ सामग्रीमा कर लगाउने बताएका ट्रम्पले सन् २०१८ मा कार्यान्वयन गरे । अमेरिकाले गत मार्चमा नै स्टिल र एलुमिनियमका सामान आयातमा ठूलो मात्रामा कर लगायो ।

 

ट्रम्पले ५० बिलियन डलर बराबरका चिनियाँ सामानमाथि कर वृद्धि गरेका थिए भने गत जुलाईदेखि त्यसमा थप गरी २५० बिलियनका सामानमा कर वृद्धि भयो । यसको जवाफस्वरूप चीनले पनि अमेरिकी सामानमा ठूलो मात्रामा कर लगाएपछि करिब तीन महिना अमेरिका र चीनबीच व्यापार युद्धको अवस्था देखा पर्यो । अर्जेन्टिनामा भएको जी–२० को शिखर सम्मेलनका क्रममा दुई देशका राष्ट्रपतिबीच व्यापार युद्ध अन्त्य गर्ने समझदारी भएको थियो । व्यापार युद्धको पक्षमा ट्विट गर्दै ट्रम्पले भनेका थिए, ‘व्यापार युद्ध राम्रो हो र युद्ध जित्न सजिलो छ ।’ तर यसको परिणाम वर्षको अन्त्यमा सकारात्मक बनेन । अमेरिकीलाई यसले सहयोग गर्नुको साटो झनै चोट पु¥याएको छ ।

 

सेयर बजारमा कमी आएको छ भने अमेरिकी व्यापार घाटा झनै बढेको छ । जसले गर्दा अमेरिकी किसान तथा उद्योगीहरूले आफ्नो बजार गुमाएका छन्, अमेरिकी निर्माण कम्पनीहरूले नोकरीमा कटौती गर्दा कामदारको रोजगारी गुमेको छ ।

 

अमेरिका र चीनबीच व्यापार युद्ध अन्त्य गर्ने सहमतिलगत्तै क्यानडामा अमेरिकाको आग्रहमा चिनियाँ टेलिकम कम्पनी हुवावेकी आर्थिक प्रमुख मेङ वाङझाउ पक्राउ परेपछि व्यापार युद्धले नयाँ मोड लियो । हुवावेको यो प्रकरणले अबको प्रविधिको नेतृत्व कसले गर्ने भन्नेतर्फ उनीहरूको संघर्ष केन्द्रित हुन थालेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्