टिपरलाई दुई घण्टा अगाडी चल्न दिएकै दिन दुर्घटना



 काठमाडौं । निर्माण सामग्रीको ढुवानीमा असर परेको भन्दै टिपरलाई साँझ ७ बजे नै काठमाडौं प्रवेश गर्न दिइएको छ । तर, निर्णय भएकै दिन टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ  ।

 

भक्तपुरको सूर्यविनायकस्थित पाण्डु बजारमा बुधबार साँझ काभ्रेबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख.३६५० नम्बरको टिप्परले त्यही दिशातर्फ जाँदै गरेको बा८८प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

 

प्रहरी परिसर भक्तपुरका अनुसार साँगाबाट ६ बजे छुटेर तीव्र गतिमा आएको टिप्परले मोटरसाइकललाई ठक्कर दिएर चालक फरार भएको हो । ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित भिडले टिप्परमा आगो लगाइदिएर ध्वस्त बनाइदिएका छन् । डेढ घण्टासम्म पनि आगो नियन्त्रणमा आएको छैन ।

 

आगो नियन्त्रणका लागि आएका प्रहरीले भिड हटाउन खोज्दा आक्रोशित भिडले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको स्थानीय हरिशरण थापाले बताउनुभयो । प्रहरीले लाठीचार्ज गरेपछि आक्रोशित भिडले ढुङ्गाहाने पछि सूर्यविनायक क्षेत्र राति ८:३० बजेसम्म तनावग्रस्त बनेको छ । 

 

आगो नियन्त्रण गर्न आएको दमकललाई समेत भिडले ढुङ्गा हानेर तोडफोड गरेपछि प्रहरीले भिडमा अश्रृग्यास हानेको छ । स्थानीयका अनुसार प्रहरीले १५ सेल भन्दा बढी अश्रुग्यास हानेको छ । राती ८ः३० बजेसम्म अश्रुग्यास हानेर भिड तितरबितर बनाएपछि दमकलले आगो निभाएको छ । 

 

घटनालाई शान्तिपूर्ण रुपमा नियन्त्रणमा लिन सकिने भए पनि प्रहरीको लापर्वाहीका कारण सूर्यविनायक क्षेत्र तनावग्रस्त बनेको स्थानीय बासिन्दाले बताएका छन् । प्रहरीले राति घर जान लागेका, पसल सञ्चालन गरेको व्यापारीदेखि सुत्केरी महिला समेतलाई अन्धाधुन्दा लाठीचार्ज गरेको स्थानीयले आरोप लगाएका छन् । 

 

स्थानीय प्रत्यक्षदर्शी सावित्री पोखरेलले प्रहरीले बच्चा बोकेको सुत्केरी महिलालाई समेत लाठी प्रहार गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्