अझै ‘गिरहत शासन’मा हरुवा/चरुवा



सप्तरी: सप्तरीको सुरुङ्गा नपा–१ तेत्तरी गाउँका ७० वर्षीय रामदेव सदाले ६ दशकभन्दा बढी भयो, गिरहत (जमिनदार)को घरमा हरुवा (हलो जोत्ने) र चरुवा(गाई–भैँसी चराउने) काम गरेको । जीवनको ऊर्वर समय अरुका लागि खर्चेका उनी अहिले भने ‘रामभरोसा’ जिन्दगी बाँचिरहेका छन् । त्यो पनि जिन्दगी जस्तै जर्जर झुपडीमा ।

 

यही झुपडी ठडिएको जमिन पनि आफ्नो भए त हुन्थ्यो नि। यही कारण काम गर्न नसकेपछि गिरहतले उनलाई त्यो जमिन पनि छाड्न ताकेता गरिरहेका छन्। बिनासन्तानका उनी अहिले चिन्तित छन्–वृद्ध श्रीमतीलाई लिएर जाउँ कहाँ ?

 

यही देशमा उनको जीवनकालमा राणा शासन, पञ्चायती शासन, लोकतन्त्र, गणतन्त्र लगायतका शासन व्यवस्था छाए । तर, उनको जीवनमा हावी भएको ‘गिरहत शासन’ कहिल्यै परिवर्तन भएन । ‘सामान्य ज्यालामा हामीले आफ्नो महत्वपूर्ण जीवन गिरहतका लागि बितायौँ’, उनले सुनाए, ‘अहिले हामी घर न घाटका भएका छौँ।’ धेरै शासनसत्ताबारे सुनेका उनी गिरहत शासनभन्दा सबैभन्दा कडा भएको बताउँछन् ।

 

यो उनको मात्र कथा होइन, कुनै न कुनै परिबन्धले बाध्यात्मकरूपमा गिरहतकोमा विशेषतः खेतीपातीको काम  र गाईवस्तु चराउने उनीजस्तै हजारौँको साझा व्यथा हो । उनीहरू ज्याला त पाउँछन्। तर, अत्यन्त न्यून। जसले न पेट भर्न सघाउँछ न त अन्यत्र काम गर्न अनुमति नै दिलाउँछ । यही कारण हो कि आफ्ना आवश्यकता पूरा गर्न उनीहरूसँग ऋणका लागि हात पसार्नुको विकल्प हुन्न ।

 

चर्को ब्याजदर अर्थात् सयकडा ३ देखि ५ रूपैयाँसम्म ऋण लिन बाध्य हुन्छन्। यही ऋण हो जसले उनीहरूलाई वर्षौँदेखि नाम मात्रको ज्यालामा काम गर्न बाध्य तुल्याउँछ। र, त्यसबाट फुत्कन दिँदैन। यस अर्थमा यो बाँधा श्रमको एक रूप हो बँधुवा मजदूरी ।

 

 यही देशमा उनको जीवनकालमा राणा शासन, पञ्चायती शासन, लोकतन्त्र, गणतन्त्र लगायतका शासन व्यवस्था छाए। तर, हरुवा/चरुवाको जीवनमा हावी भएको ‘गिरहत शासन’ कहिल्यै परिवर्तन भएन । यस्तै पीडाकी अर्की खानी हुन्, गीतादेवी सदा। करिब ४० वर्षकी देखिने उनलाई आफ्नै उमेर थाहा छैन । तर, अनुमान गर्नेले उनलाई साढे ६ दशकभन्दा कम उमेरको मान्दै मान्दैन ।

 

मतलव, काम र पीडाले कुबेलामै बुढ्यौलीमा प्रवेश गराइदियो जबर्जस्ती। चार वर्षअघि पतिको  निधन भएपछि  पाँच र आठ वर्षका सन्तानको जिम्मेवारीसमेत थपियो उनैको काँधमा। ‘श्रीमानको मृत्युपछि मलाई बस्दै आएको घरबाट पनि निकालियो, अहिले चौरमा बनाइएको यही छाप्रोमा बस्दै आएकी छु, अनि कसरी चमक रहोस् हाम्रो अनुहार ?’ उनी भन्छिन् ।

 

श्रीमान्ले बाँचुन्जेल साहुकहाँ काम त गरे। तर, न त्यसको उचित ज्याला पाए न त राम्रो बोलीवचन नै। उनले बाबुबाजेको ऋण तिर्नु त परै जाओस्, परिवारका सदस्यहरूलाई मीठोमसिनो खुवाउन पनि सकेनन्। काम गर्दागर्दै उनी रोगको सिकार भए। ‘उपचार गरेको भए बाँच्नुहुन्थ्यो होला,’ उनले सुनाइन्। तर, अहिले गीतादेवीसँग श्रीमानले छाडेर गएको नाममा बिस्मात्बाहेक केही बाँकी छैन ।

 

यस्ता थुप्रै गीतादेवी भेटिन्छन् सुदूर देहात डुल्दा । हुन त पछिल्लो समय हरुवा–चरुवामाथि हुने श्रम शोषण र अन्यायका रूप थोरै फेरिएका पनि छन्। तर, अन्याय र गरिबी भने उस्तै छ । उनीहरू पूर्णरूपमा भूमिहीन छन् । अरुको जग्गा, पोखरीको ढिक, नदीको किनार, ऐलानी जस्ता जोखिमयुक्त सार्वजनिक जग्गा नै उनीहरूको एकमात्र ‘सम्पत्ति’ हुने गरेको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्