क्षुद्रग्रह खोज्न काठमाडौंमा अभियान !



काठमाडौं: ‘राष्ट्रव्यापी क्षुद्रग्रह खोज अभियान’ अन्तर्गत काठमाडौँ उपत्यकाका २० विद्यालयका ३० समूहले मङ्गल र बृहस्पति ग्रहकाबीच क्षुद्रग्रह एवं पृथ्वी नजीक रहेका वस्तुको खोजी शुरु गरेको छ ।

 

शुक्रबारदेखि शुरु भएको खोज माघ ९ गतेसम्म जारी रहनेछ । खोजमा पाँच सामुदायिक र १५ संस्थागत विद्यालय सहभागी भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अभियानका सहभागीले अमेरिकाको हवाईस्थित पानोरामिक सर्वे टेलिस्कोप तथा ¥यापिड रेस्पोन्स सिस्टम अर्थात् प्यान्स्टार्सले खिचेका तस्बीरमा क्षुद्रग्रहको खोज गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । 

 

खोज्ने क्रममा कुनै क्षुद्रग्रह पत्ता लागेमा खोजकर्ताको नाममा अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियनमा दर्ता हुनेछ । हाल प्यान्स्टार्सका एक दशमलव आठ मिटरका दुई वटा टेलिस्कोप सञ्चालनमा छन् । नेपालमा माध्यमिक (कक्षा ९–१२) विद्यालयस्तरमै अनुसन्धानात्मक काममा रुचि जगाउने कार्यक्रमको उद्देश्य छ ।

 

खोज सामूहिक प्रयास भएको बुझाउन अभियान थालिएको सोसाइटीले जनाएको छ । सहभागीका लागि पुस १५ र १६ गते विशेष तालीमको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्