रामेछापका अपांगता भएका २९ जनालाई सहायता सामग्री



काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले रामेछापको रामपुर नगरपालिका-५ र मन्थली नगरपालिका-१ का अपांगता भएका व्यक्तिलाई आवश्यक सामग्री वितरण गरेको छ। शुक्रबार छुट्टाछुट्टै स्थानमा आयोजित कार्यक्रममा सोसाइटीका महामन्त्री रेवरत्न धाख्वाले ती स्थानका अपांगता भएका २९  जनालाई १४ प्रकारका ५२ थान सहायता सामग्री वितरण गरेका हुन्।

 

विसं २०७२ को विनाशकारी भूकम्पबाट अतिप्रभावित अपांगता भएका व्यक्तिको दैनिक जीवन सहज बनाउन सहयोग पु¥याउने उद्देश्यले उनीहरूको आवश्यकता बमोजिमका सहयोग सामग्री प्रदान गरिएको महामन्त्री धाख्वाले जानकारी दिए।

 

अपांगता भएका व्यक्तिको आवश्यकता पहिचानका लागि सोसाइटीले यसअघि ती स्थानमा दुई पटक स्वास्थ्य शिविर आयोजना गरेको थियो। शिविरमा हाडजोर्नी, आँखा, नाक, कान, घाँटी जाँचलगायत मनोपरामर्श, सामान्य चिकित्सा तथा फिजियोथेरापी गरी चिकित्सकहरूले आवश्यक सहयोग सामग्री उपलब्ध गराउन सिफारिस गरेका थिए।

 

सोही सिफारिसका आधारमा सोसाइटीले सामग्री खरिद गरी उपलब्ध गराएको सोसाइटीका वरिष्ठ अधिकृत पूजा कोइरालाले बताए । सोही अवसरमा सोही जिल्लाको रामपुर-५ मा निर्माण गरिएको बाल, लैंगिक तथा अपांगतामैत्री शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको थियो। सोसाइटीले जिल्लामा पाँच यस्ता सार्वजनिक शौचालय निर्माणमा आर्थिक एवं प्राविधिक सहयोग गरेको थियो ।

 

रामपुरका लक्षित ३१ अति संकटापन्न (एकल महिला, अपांगता भएका व्यक्ति, बालबालिका र ज्येष्ठ नागरिकजस्ता घरमुली रहेका) परिवारमध्ये २३ जनालाई सोसाइटीले प्रतिपरिवार थप ५० हजार रुपैयाँ आवास निर्माणका लागि सहयोग प्रदान गरेको वरिष्ठ अधिकृत कोइरालाले जानकारी दिए। यसअघि सोसाइटीले रामपुरमै लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको थियो।

 

साथै आयोजना मर्मतसम्भारका लागि उपभोक्ता समितिलाई आवश्यक तालिम तथा आवश्यक सामग्री प्रदान गरिएको थियो । सोसाइटीद्वारा सञ्चालित संरक्षण, लैंगिकता तथा समावेशीकरण कार्यक्रमका लागि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ र अस्ट्रलियाली रेडक्रसले आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्