गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा



पोखरा: ल्होसारको अवसरमा गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पुस १५ गते तमु ल्होसार परेकोले प्रदेशका सबै सार्वजनिक तथा सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुका सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

 

तमु ल्होसार के हो ?

गुरुङहरुले पुस १५ मा मनाउने ल्होसारलाई तमु अर्थात गुरुङ ल्होसार भनिन्छ । तमुहरुले ल्हो (वर्ग) हरेक वर्ष १५ पुसमा बदलिने बिश्वासका साथ नयाँ वर्ष मनाउने गर्दछन् । ल्होसार तीन किसिमका छन् । तमु ल्होसार, सोनामा ल्होसार र ग्याल्पो ल्होसार । तमु ल्होसार तमु गुरुङ जातिले मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्पो ल्होसार हिमाली आदिवासी जनजातिले मनाउने गर्छन् ।

 

नाम, तिथि र मिति फरक भए पनि ल्होसारको अर्थ र परिभाषा भनेको एउटै छ । गुरुङ, तामाङ र हिमाली जनजातिले यसलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन् । सबै जातिले मान्ने ल्होसार भनेको नयाँ वर्ष हो । ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो ।

प्रतिक्रिया दिनुहोस्