
बिर्तामोड : तीन वटा ट्रक चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय बिर्तामोडले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका–३ का १९ वर्षीय रोशन श्रेष्ठ रहेका छन् ।
कवाडी पसल तथा ग्यारेजमा बिक्री गरी आर्थिक लाभ लिने उद्देश्यले श्रेष्ठले ट्रक चोरी गरेको प्रहरीको भनाइ छ । चोरी भएका तीनवटै ट्रक फेला पारिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख कृष्ण कोइरालाले बताए ।
गत भदौ ३० गते राति बिर्तामोड नगरपालिका-५ स्थित हर्कलाल मार्गमा पार्किङ गरी राखेको सुजन श्रेष्ठको ना. ५ ख ४९८६ नम्बरको फुलबडी ट्रक चोरी भएको थियो ।
त्यसलगत्तै असोज २ गते राति बिर्तामोड नगरपालिका-५ स्थित एङ्गी बोइ होटल छेउमा पार्किङ गरेको दिलकुमार श्रेष्ठको ना२ख ५०८१ नम्बरको फुलबडी ट्रक पनि चोरी भएको उजुरी प्रहरीमा परेको थियो ।
दुई ट्रक चोरीको घटना सेलाउन नपाउँदै असोज ९ गते राति बिर्तामोड नगरपालिका–५ स्थित सुगम पेट्रोल पम्प नजिक पार्किङ गरेको मे १ ख २६३८ नम्बरको जेनिस भट्टराईको ट्रकसमेत चोरी भयो ।
चोरी भएका ट्रकमध्ये ना५ ख ४९८६ नम्बरको ट्रक बिर्तामोडबाट नै प्रहरीले नियन्त्रणमा लिएको थियो । ना२ख ५०८१ नम्बरको ट्रक सुनसरीको इटहरी र मे१ख २६३८ नम्बरको ट्रक पर्साको वीरगन्जबाट बरामद भएको प्रहरीले जनाएको छ ।
ट्रक चोरी गर्नेको खोजी गर्ने क्रममा रोशन श्रेष्ठले चोरेको स्पष्ट भएपछि पक्राउ गरिएको प्रहरी प्रमुख कोइरालाले बताए । श्रेष्ठलाई प्रहरीले असोज १४ गते बेलुका बिर्तामोड नगरपालिका–५ मा लुकीछिपी बसेको सुराक पाएपछि पक्राउ गरेको हो ।