न्यानो कपडा वितरण



दमौली: जिल्ला बालकल्याण समितिले व्यास नगरपालिका–११ राम्चेस्थित सूर्योदय आधारभूत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ । सिर्जनशील बालविकास संस्था पोखराको समन्वयमा समितिले विद्यालयमा अध्ययनरत २२ छात्रछात्रालाई शुक्रबार न्यानो कपडा र झोलासहित शैक्षिक सामग्री वितरण गरेको हो ।

 

उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बालबालिकालाई न्यानो कपडा वितरण गर्दै यसले विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने बताए । उनले भने, “चिसोका कारण न्यानो कपडा नहुँदा विद्यार्थी विद्यालयमा अनुपस्थित हुने क्रम बढ्दो छ, न्यानो कपडाले उनीहरुलाई विद्यालय आउने वातावरण सिर्जना गर्ने अपेक्षा गरेका छौँ ।”

 

यसैगरी रोट¥याक्ट क्लब अफ दमौली र रोट¥याक्ट क्लब मनोहरा काठमाडौँले समेत शुक्रबार व्यास नगरपालिका–११ शेरास्थित तातोपानी आधारभूत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा र झोला वितरण गरेको थियो ।

 

अध्ययनकार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त विद्यालयमा अध्ययनरत २६ छात्रछात्रालाई न्यानो कपडा र झोला वितरण गरिएको रोट¥याक्ट क्लब अफ दमौलीका अध्यक्ष विपीन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्