बैतडीका १५ वडा स्वास्थ्यचौकीविहीन



बैतडी : बैतडीका १५ वडा स्वास्थ्यचौकीविहीन छन् । नयाँ संरचनाअनुसार जिल्लाका स्थानीय निकाय ८४ वडामा विभाजित भएका र सबै वडामा स्वास्थ्य सेवा पुर्याउन कठीन भएको छ ।

 

साविकका ६८ गाविसमा स्वास्थ्य संस्था भए पनि बाँकी १५ मा स्वास्थ्य संस्था नभएको जिल्ला अस्पतालका डा जगदीशचन्द्र विष्टले जानकारी दिए । स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न समस्या भएको छ ।

 

नयाँ संरचनाअनुसार कुनै वडामा दुई स्वास्थ्यचौकीसमेत परेका छन् । सरकारले स्वास्थ्य सेवा स्थानीय तहबाटै उपलब्ध गराउने भने पनि सरकारले प्रदान गर्ने निःशुल्क सेवासमेत उपभोग गर्न नपाएको स्थानीय बासिन्दाको गुनासो छ । नयाँ संरचनाअनुसार आफ्नो वडामा स्वास्थ्यचौकी नपर्दा वडावासीले अन्यत्रबाट स्वास्थ्य सेवा लिनुपरेको छ ।

 

हरेक वडामा स्वास्थ्यचौकी नहँदा बैतडीका केही महिला घरमै बच्चा जन्माउनसमेत बाध्य छन् । भौगोलिक बिकटताका कारणले पनि स्वास्थ्य संस्थामा पुग्न नसक्ने र स्वास्थ्यचौकी पायक पर्ने ठाउँमा नहुँदा सुत्केरी महिला घरमै बच्चा जन्माउन बाध्य भएका हुन् ।

 

जिल्लाका स्वास्थ्यचौकी नभएका बाँकी १५ वडामा स्वास्थ्यचौकी स्थापनाका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग भइसकेकाले छिट्टै समस्या समाधान हुने उक्त कार्यालयका प्रमुख निशा जोशीले बताइन् । रासस

प्रतिक्रिया दिनुहोस्