अग्निपीडितको आवास प्रदेश सरकारले नै निर्माण गर्ने



सुर्खेत : कालिकोटको पलाँता गाउँपालिका–१ खाडा न्यौपानेवडाका अग्निपीडितको आवास प्रदेश सरकारले नै निर्णय गर्ने भएको छ । कर्णाली प्रदेश सरकारको ३२ औं मन्त्रीपरिषद् बैठकले पीडित परिवारहरुको पुर्नस्थापनाका लागि योजनाबद्ध ढंगले आवास सरकार आफैले गर्ने निर्णय गरेको हो ।

 

शुक्रबार राती बसेको बैठकले आवास निर्माणका लागि प्रतिपरिवार पाँच लाख रकम आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिइन् । आगलागिबाट पूर्णरुपमा क्षति भएका ८७ परिवारका लागि पाँच लाखका दरले चार करोड ३५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ । 

    

यस्तै मन्त्री केसीले पीडितलाई आर्थिक सहयोगको घोषणा गरे पनि उक्त रकम भने सोझै उनीहरुको खातामा नजाने भएको छ । सोझै पीडितलाई दिँदा दुरुपयोग हुनसक्ने भन्दै प्रदेश सरकार आफैले नै आवास निर्माण गरी पीडित परिवारलाई हस्तान्तरण गर्ने योजना बनाएको छ ।

 

 ‘अग्नि पीडित आवासका  लागि नमूना नक्सा, प्राविधिक सहयोग र प्रति परिवार पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ’ उनले भनिन्, ‘प्रदेश सरकारले नै स्थानीय तहसँग समन्वय गरी एकिकृत वस्ती निर्माण गरी पीडितलाई हस्तान्तरण गर्नेछ, यस कार्यमा परिवारको पनि जिम्मेवारी रहनेछ ।’ 

 

 साथै अग्निपीडित आवास निर्माणमा सहयोग गर्न चाहने सरकारी तथा गैरसरकारी संस्था र व्यक्तिहरुलाई प्रदेश सरकारसँग समन्वय गर्न अपिल पनि गरेको छ । पाँच लाखले मात्रै घर निर्माण गर्न नसकिने भएको हुँदा दाताहरुको सहयोगलाई पनि प्रदेश सरकारमार्फत् नै परिचालन गरी निर्माण पुरा गर्ने मन्त्री केसीले जानकारी दिइन् । 

 

यस्तै अहिले राहत संकलनका नाममा जथाभावी रकम उठाउने प्रवृति पनि मौलाएको खबर सार्वजनिक भएको भन्दै सबै संकलनकर्ताहरुलाई प्रदेश सरकारमार्फत नै राहत वितरण गर्न निर्देशन दिइएको छ । 

 

 शुक्रबारको बैठकले प्रदेश सरकार मातहतमा रहेका जिल्ला अस्पताल र आयुर्वेद औषधालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य समेत मनोनयन गरेको छ ।

 

 सुर्खेतमा रहेको साविको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल हालको प्रदेश अस्पताल विकास समितिको अध्यक्षमा श्यामलाल कंडेल मनोनित भएका छन् । 

 

प्रदेश अस्पतालको सदस्यमा हरिमाया शर्मालाई मनोनयन गरिएको छ । जिल्ला अस्पताल सल्यानको अध्यक्षमा दामोदर गौतम, जिल्ला अस्पताल मुगुमा पारशमणि मल्ल  र जिल्ला अस्पताल डोल्पाको अस्पताल विकास समितिको अध्यक्षमा तेजेन्द्रबहादुर रोकायालाई मनोनयन गरिएको छ । 

 

    यस्तै, जिल्ला अस्पताल हुम्लामा छेपाल दोर्जे लामा तामाङ, जिल्ला अस्पताल कालिकोटमा सरोज बोगटी, जिल्ला अस्पताल दैलेखमा लोमन शर्मा, जिल्ला अस्पताल जाजरकोटमा धर्मशिला वस्नेत, जिल्ला अस्पताल रुकुममा सुन्दर वली, जिल्ला अस्पताल मेहलकुनामा मानबहादुर खत्री, सुखेृत आयुर्वेद औषधालयमा ओमबहादुर बोहोरा र जुम्ला आयुर्वेद औषधालयको अस्पताल विकास समितिको अध्यक्षमा मनोज बुढाथोकीमगरलाई मनोनयन गरिएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्