स्वर्गीय राजा वीरेन्द्रको ७४ औं जयन्ती वीरगन्जमा पनि 



वीरगन्ज : स्वर्गीय राजा वीरेन्द्र शाहको ७४ औं जयन्ती कार्यक्रम एक समारोहकाबीच वीरगन्जमा पनि मनाइएको छ । राष्ट्रिय सरोकार मञ्च नेपाल पर्साले वीरगन्जको प्रतिमा चोकमा रहेको स्वर्गीय राजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पण गरेर मनाएको हो । 

 

कार्यक्रमका प्रमुख अतिथी समाजसेवी एवं राष्ट्रवादी पशुपति विक्रम शाहले स्वर्गीय राजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पण गर्दै वर्तमान अवस्थामा देशको निकास एवं शान्ति कायम गर्नका निम्ति राजसंस्था बाहेक कुनै विकल्प नदेखिएको बताए ।

 

उनले वर्तमान सरकार क्रिस्चियनको इसारामा चलिरहेको आरोप लगाउँदै यसले देश विकास नभइ धार्मिक युद्धतिर जान सक्ने आशंका व्यक्त गरे । सरोकार मञ्चका नारायणी अञ्चल संयोजक नन्दकिशोर गोयालले जनप्रेमी राजा जस्तो बहुदल बक्सने राजा तथा राजपरिवार सदस्यको हत्या काण्डको रहस्य अझसम्म पत्ता लगाउन नसक्ने सरकारलाई जनताले कहिल्यै माफ नगर्ने बताए । नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहले हिन्दु मुस्लिम एक समान रहेको हुँदा सबै मिलेर देशलाई बचाउनतर्फ लाग्न आग्रह गरे । 

 

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा जिल्ला कमिटिका जिल्ला अध्यक्ष सुनिल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेवी उषा शाह, राष्ट्रवाद संघका संघका युवा अध्यक्ष शिवशंकर साह, नेपाल विद्धत परिषदका केन्द्रिय सदस्य अध्यानन्द प्रसाद, बिश्व हिन्दु महासंघका केन्द्रिय सदस्य पृथ्वी झा, नेपाल भारत हिन्दु एकता मञ्चका अध्यक्ष अरूण झालगायतले स्वर्गीय राजा शाहको जीवनीकोबारेमा चर्चा गरे ।

 

कार्यक्रममा सरोकार मञ्चका सचिव मकबुल मियाँ, कमलप्रसाद घिमिरे, नगर अध्यक्ष उपेन्द्र बरै, विद्धत परिषदका जिल्ला अध्यक्ष रामनारायण साह लगायत स्थानीयबासी, समाजसेवी, भद्रभलाद्मी, पत्रकारसमेतको सहभागिता थियो । 

 

प्रतिक्रिया दिनुहोस्