‘लण्डन ब्रिज’ मा चक्कू आक्रमण गर्ने व्यक्तिको आतङ्ककारी समूहसँग सम्बन्ध रहेको प्रहरीको दावी



लण्डन : बेलायतको राजधानीस्थित ‘लण्डन ब्रिज’ मा शुक्रबार राति धारिलो हतियार -चक्कू_ आक्रमण गर्ने व्यक्ति हालै जेलमुक्त गरिएका आतङ्कवादी समूहका एक कैदी रहेको र आक्रमणमा आतङ्कवादी समूहको सम्लग्नता रहेको भेटिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शुक्रबार राति उक्त व्यक्तिले धारिलो हतियारद्वारा अन्धाधुन्ध बटुवामाथि आक्रमण गर्दा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । घाइते दुबैजनाको स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । शङ्कास्पद उक्त व्यक्तिबारे बेलायती प्रहरीलाई जानकारी रहेको र उसले आफूलाई चिनाउने सङ्केत -ट्याग_ लगाएको विश्वास गरिएको छ ।

लण्डन महानगर प्रहरी सेवाले आक्रमणलाई घटना लगत्तै ‘आतङ्कवादी घटना’ बताएको छ । चक्कू आक्रमणमा सम्लग्न भनिएको व्यक्तिलाई प्रहरी चलाएको गोली लागि घटनास्थलमा नै मृत्यु भएको थियो । शङ्कास्पद उक्त आक्रमणकारीले शरीरमा ‘नक्कली विष्फोटक पदार्थ’ लगाएको विश्वास गरिएको महानगर प्रहरी सेवाले जनाएको छ ।

शुक्रबार राति उक्त व्यक्तिले धारिलो हतियारद्वारा अन्धाधुन्ध बटुवामाथि आक्रमण गर्दा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । घाइते दुबैजनाको स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।

यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आक्रमणपछि ट्वीट सन्देशमार्फत भन्नुभयो,“सरकारले सडकहरूमा समेत प्रहरीको उपस्थितिलाई मजबुत बनाएको छ ।”

यस पहिले सन् २०१७ को जुन ३ मा पनि ‘लण्डन ब्रिज’ यस्तै आक्रमण भएको थियो । उक्त घटनामा आठ सर्वसाधारण मारिएका थिए, भने अन्य केही व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्