‘ब्यूटि प्रिन्सेस’ अर्थात हिमानीको हाँसो



काठमाडौं : तात्कालीन राजपरिवारकी युवराज्ञी बुहारीको भूमिकामा रहेकी हिमानी अहिले भने क्रमशः राजर्षी भूमिकामा उकाली चढ्दै गरहेकी देखिन्छिन् । सुरुमा दोलखाको नाम्दु गाउँमा सामाजिक कार्य गर्न पुगेकी हिमानीको नाइटोमा पियरसिङ गरेको तस्वीर बाहिरिएपछि उनको राजशाही पृष्ठभूमि र सौखका बीचमा विसंगति देखिएकाले उनीमाथि असंख्य टिकाटिप्पणी भएका थिए । त्यहीबाट चर्चामा आएकी हिमानी अहिले भने ‘मिडिया क्विन’ हुन पुगेकी छन् ।

पछिल्लो पटक सार्वजनिक भएको उनको परिवारसहितको अडिओ–भिजुअलमा उनी निकै सौम्य र भद्र रुपमा देखा परेकी छन् । उनका ससुरा तथा पूर्व राजा ज्ञानेन्द्रसँगै राजधानीको एलओडी रात्री क्लबमा पुगेकी हिमानी उमंगित भावमा भद्र किसिमले नाच्दै प्रस्तुत भएकी थिइन् । पति पारससँगको दूरीले उनमा केही पनि प्रभाव नपारेको उनको मुखाकृतिबाटै देख्न सकिन्थ्यो ।

ससुरा तथा परिवारका अन्य सदस्य र आफ्ना छोराछोरीसँग निकै गाढा सम्बन्ध बनाएकी हिमानीमा जिम्मेवारीबोधले भरिएको परिपक्व व्यवहार देखिन्छ । धर्मकर्ममा लगाव बढ्दै गएकी हिमानी विशेष तिथि–पर्वमा मठ÷मन्दिर पुगिरहेकी देखिन्छिन् ।

पूजाआजाकै लागि पशुपतिनाथदेखि गोरखा, स्याङ्जा, तनहुँ, पोखरासम्मको मठ–मन्दिरमा उनको बारम्बार आगमन भरहन्छ । पुराण, भजन कीर्तनजस्ता धार्मिक अनुष्ठानमा उनी आफ्ना दुई छोराछोरीसहित सहभागी हुने गरेकी छन् ।

फेसबुक क्विन हिमानीको सोसल स्टाटसमा १ लाख ७३ हजार लाइक भेटिन्छ भने उनले नारीत्व, संस्कार, संस्कृति, सामाजिक मूल्य, जीवन, जगत र दर्शनका बारेमा घतलाग्दा कुरा पोेष्ट गरिरहन्छिन् । उनको मन पराइएको पछिल्लो स्टाटसमा लेखिएको छ– ‘जाऊ, आर्यघाटमा गई नियालेर हेर, रुँदैनन् कहिले जल्नेहरू, रुन्छन् त केवल जलाउनेहरू ।’

यसले उनको पारिवारिक र राजनीतिक दुईवटा अर्थ बोकेको देखिन्छ : पारिवारिक रुपमा पति पारस टाढिएको र राजनीतिक रुपमा दलहरुले राजा फालेको । तर उनले आफू नभई पारस नै रोएको र पूर्व राजा ज्ञानेन्द्र नरोई उल्टै राजनीतिक दलहरु नै रोएकोतर्फ स्टाटसमार्फत संकेत गरेकी छन् ।

पूर्वयुवराज्ञी हिमानी राज–घरानाकी चेली हुन् । यसैले पनि उनको ग्ल्यामर छ । हाल ४३ वर्षको संघारमा पुगिसके पनि उनी जवान र रुपवती देखिन्छिन् । मन्द मुस्कानका साथ सधैजसो साडीमा ठाँटिएर हिँड्ने उनको वरिपरि सर्वसाधारण झुम्मिने गर्दछन् । यसै कारण पनि उनलाई मिडियाले निकै पछ्याउँछन् । घोडा सवार मन पराउने, संगीत सुन्ने र किताब पढ्ने सौख भएकी उनी गम्भीर र प्रफुल्ल मुद्रामा रहने गरेकी हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस्