मेडिकल कलेज निर्माणको प्रगतिले स्थानीयवासी खुशी



धनगढी : सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको विकाससँग जोडिएको कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजको निर्माण कार्यमा भइरहेको प्रगतिसँगै स्थानीयवासी खुशी भएका छन् ।

निर्माण थालनीका बेला कलेज सञ्चालन हुने÷नहुनेमा अन्योल सिर्जना हुँदा निराश देखिएका स्थानीयवासी पछिल्ला वर्षमा संरचना निर्माणको काम तीव्र हुँदा खुशी भएका हुन् । “शुरुका वर्षमा संरचना निर्माण ढिलाइ हुँदा यो योजना कार्यान्वयनमा आउनेमा शङ्का थियो, स्थानीय भक्तराज ओझाले भने, “अहिले भने काम धमाधम हुँदा कलेज छिट्टै सञ्चालन हुने आशा जगाएको छ ।”

कलेजका संरचना निर्माणले तीव्रता पाएसँगै आगामी एक वर्षभित्र सबै संरचनाको निर्माण पूरा हुन लागेको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले जानकारी दिए। “विसं २०७७ को अन्त्यसम्ममा सबै संरचना तयार पारेर कलेज सञ्चालनको प्रक्रियामा जाने सोच बनाएका छौँ”, कार्यकारी निर्देशक साउदले भन्नुभयो, “अहिलेसम्म ६५ प्रतिशतभन्दा बढीको निर्माण कार्य पूरा भइसकेको छ ।”

नेपाल सरकारले यस्ता कलेज सञ्चालनको ढाँचाका बारेमा विधेयक तयार पारेर कानूनी परामर्शसमेत गरिरहेको छ । सरकारले विसं २०६६ मा कलेज स्थापनाको घोषणा गरेकामा प्रक्रियागत ढिलाइका कारण निर्माण कार्य भने तीन वर्षअघि देखि मात्रै शुरु गरिएको थियो ।

कलेजका लागि साढे तीन तलाको अस्पताल भवन, साढे पाँच तलाकोे कलेज भवन, दुई तलाका दुईवटा छात्रबास भवन, अढाइ तलाको प्रशासनिक भवन लगायतका २४ संरचना निर्माणधीन रहेका छन् । आउने साउन महिनासम्म कलेजको अस्पताल भवन, कलेज भवन, प्रशासनिक भवन, छात्रावासलगायत संरचना निर्माण पूरा हुन लागेको छ । चिकित्सकको आवासगृहका रुपमा आठवटा भवन निर्माणाधीन छन् ।

अन्य कर्मचारीको आवासका लागि पनि तीनवटा छुट्टै भवन निर्माण भइरहेको छ । मेडिकल कलेज परिसरको मूल बाटो निर्माणका साथै कलेज निर्माणस्थलको उत्तरतर्फ रहेको नदीको नियन्त्रणको काम पनि सँगसँगै गर्न लागिएको छ ।

चालू वर्षमा फोहर व्यवस्थापन र पानी व्यवस्थापनको काम पनि अघि बढ्न लागेको छ । गेटा मेडिकल कलेज छ सय श्ययाको निर्माण गर्ने लक्ष्य छ । कलेजका थप भौतिक संरचनाहरु निर्माणका लागि हाल परामर्शदाता छनौटको काम भइरहेको कार्यकारी निर्देशक साउँदले बताए।

कलेजका अस्पताल भवन लगायतका संरचनाको निर्माणमा शर्मा राजेन्द्रकुमार कम्पनी, लुम्बिनी कुमार के एस र रविना कन्सट्रक्सन प्रालि संलग्न छन् । कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलब आठ हेक्टर जग्गामा रहेका रूख कटानीका लागि भएको ढिलाइलगायत कारणले शुरुको अवस्थामा कलेज निर्माणसम्बन्धी पूर्वाधारको निर्माणको काममा ढिलाइ भएको थियो ।

कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिगाहा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ । उनीहरुलाई समयमै अन्यत्र पुनस्र्थापन गर्ने सवालमा सम्बन्धित निकायले ध्यान नदिँदा उक्त ठाउँमा निर्माण गर्नुपर्ने संरचनाको निर्माण कार्य भने अन्योलमा छ ।

मुक्तकमैया बसेको उक्त जग्गामा मेडिकल कलेज अन्तर्गतको ट्रमा सेन्टर लगायतका संरचना निर्माण गर्ने योजना रहेको बताइएको छ । मुक्तकमैयालाई अन्यत्र पुनस्र्थापना गर्नेबारे छलफल भइरहेको कार्यकारी निर्देशक साउदले बताए।

जग्गाको मूल्य बढ्यो

गोदावरी नगरपालिकाको गेटा क्षेत्रमा मेडिकल कलेज निर्माण शुरु भएसँगै आसपासको जग्गाको मूल्य आकाशिँदै गएको छ । कलेज आसपासका ग्रामीण बस्तीमा एक दशकअघि प्रतिकट्ठा जग्गाको मूल्य रु तीन लाखसम्म रहेकामा अहिले रु १५–२० लाखसम्म पुगेको स्थानीयवासी रमेश बडेलाले बताए।

“कलेज निर्माण शुरु भएपछि अहिले जग्गाको मूल्य छोइनसक्नु भएको छ”, बडेलाले भने, “पछिल्ला वर्षमा बसाइँसराइको चाप पनि बढेको छ ।” – रासस

प्रतिक्रिया दिनुहोस्