आतंक मच्चाउने चितुवाको डिएनए परीक्षण



सन्धिखर्क : डेढ महिनाअघि अर्घाखाँचीको ढिकुरा पियाले खोलामा नरभक्षी ठानिएको एउटा चितुवालाई पासोमा पारियो । पाँच वर्षमै २४ बालबालिकामाथि आक्रमण भइसकेपछि स्थानीयको गुनासो अनुसार नै उक्त चितुवा समातिएको थियो ।

 

स्थानीय प्रशासनको रोहवरमा प्रहरीको सहायतामा चितुवा त पक्राउ गरियो, तर नियन्त्रणमा लिन खोज्दा चितुवाको पनि मृत्यु भयो । चितुवाको आक्रमणबाट आतंकित बनेका ढिकुरा, नुवाकोट, सन्धिखर्क, खाँचीकोट लगायतका स्थानीय त चितुवा पासोमा परेपछि नै खुसी भए ।

 

खासमा १४ जनाको ज्यान लिने चितुवा त्यही भएको उनीहरुको ठहर थियो । यसाहेक अरु चितुवा पनि जंगलमा नरभक्षी भएको स्थानीयको आशंका छ । नरभक्षीमध्येको नाइके ठानिएको चितुवा मरिसकेपछि पनि नरभक्षी हो वा हैन भनी पुष्टि गर्न उक्त चितुवाको डिएनए परीक्षण समेत गराइएको छ ।

 

जिल्ला प्रशासनको पहलमा उक्त चितुवाको डिएनए काठमाडौंमा लगेर परीक्षण गर्दा नरभक्षी नै भएको ठहर भएको छ । चितुवाको ब्लड, र्याल, बच्चाको बल्ड, जंगलमा बच्चा भेटिएको स्थानका विभिन्न नमुना जाँचका लागि काठमाडौंस्थित प्रयोगशाला पठाइएको थियो ।

 

सहायक वन अधिकृत शिला पोखरेलका अनुसार डिएनए रिपोर्ट अनुसार चितुवा नरभक्षी रहेको पोजेटिभ रिपोर्ट आएको हो । रिपोर्टका कागजात भने सन्धिखर्क ल्याइ पुर्याउन केही दिन लाग्ने पोखरेलले बताएकी छन् ।

 

चितुवाको आक्रमणबाट १४ जनाको ज्यान गएको थियो भने १० जना घाइतेको उपचार भइसकेको छ । चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीय बासिन्दाले चितुवा पक्राउ गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।

 

चितुवाको डरले गाँउ छाड्नै बाध्य भएको र आफन्तहरु बालबालिका लिएर ढिकुरा, कुर, किमडाडा, नुवाकोट लगायत स्थानमा आउन समेत छोडेपछि उनीहरु त्रसित देखिन्थे ।

 

स्थानीयको गुनासोपछि चितुवालाई डेढ महिनाअघि पासोमा पारेर समातिएको हो । पासोबाट नियन्त्रणमा लिने क्रममा चितुवा मरेको थियो । डेढ महिनाअघि नै चितुवाको आक्रमणबाट ढिकुराको पियालेमा ४ वर्षीय बालकको ज्यान गएपछि नरभक्षी चितुवा समात्न प्रहरी परिचालन गरिएको थियो ।

 

नरभक्षी चितुवाको आक्रमणले आतंकित बनेका अर्घाखाँचीका स्थानीयहरु चितुवा पासोमा परेर मरेपछि  खुसी भएका थिए । चितुवा पासोमा परेपछि ढिकुरा, नुवाकोट, सन्धिखर्क, खाँचीकोटलगायतका स्थानीयहरु अत्यन्तै हर्षित भएका हुन् । तर नरभक्षी चितुवा हो होइन भनेर पत्ता लगाउन डीएनए परिक्षणका लागि पठाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्