एनएनआइपीएल अवार्डमा कमल र अनु सर्वोत्कृष्ट खेलाडी



एनएनआइपीएल अवार्डमा भारोत्तोलनका कमलबहादुर अधिकारी र कराँतेकी अनु अधिकारी सर्वोकृष्ट खेलाडी घोषित भएका छन्।   नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) ले आयोजना गरेका उक्त १३ औँ संस्करणको अवार्डमा पुरुषतर्फ कमल र महिलातर्फ अनु सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन्।

 

 ललितपुरको पाटन दरबार सङ्ग्राहलयमा शुक्रबार भएको अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट घोषित खेलाडीद्वयले जनही  एकलाख पाएका छन्। सो अवसरमा साढे ४ दशकदेखि नेपाली खेलकुदमा योगदान गरेका भारत्तोलनका मुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्त ‘मिट्ठू गुरु’ लाई एनएनआइपीए गजराज जोशी आदर्श व्यक्तित्वको रुपमा पनि सम्मान गरिएको छ। उनलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।

 

 त्यस्तै विभिन्न २९ खेलका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो। सम्मानित हुनेमा फुटबलकी सावित्रा भण्डारी, पौडीकी गौरिका सिंह, भलिबलका इमराना मगर, फेन्सिङका जंग गिरी, हकीका मनोज चौधरी, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, भारत्तोलनका कमल अधिकारी रहेका छन्। यसैगरी बक्सिङकी बिमला श्रेष्ठ, सुटिङकी सुश्मिता नेपाल, लन टेनिसका प्रणव खनाल, कबड्डीका नरेन्द्र ठाकुर, सफ्ट टेनिसका युकेश योञ्जन, स्क्वासकी भावना सुनुवार, सेपाकताक्रोका रुपेश सुनुवार, खोखोका सन्तोष बोहरा, बास्केटबलका मनिषराज राजोपाध्याय, आइटिएफ तेक्वान्दोकी सुनिता तामाङ, ब्याडमिन्टनकी नङसलदेवी तामाङ, ट्राइथोलनका बसन्त थारु, ह्यान्डबलकी बन्दना राई, जुडोकी मनिता श्रेष्ठ प्रधान तेक्वान्दोकी अस्मिता खड्का, करातेकी अनु अधिकारी, उसुका अमर सुनार, आर्चरीका रमेश भट्टचन, एथलेटिक्सकी विश्वरुपा बुढा, गल्फका टंकबहादुर कार्की र कुस्तीकी माया लोहार रहेका छन्।  विभिन्न खेलमा उत्कृष्ट खेलाडीले जनही  १० हजार प्राप्त गरेका छन्। त्यस्तै साइक्लिङका नारायणगोपाल महर्जनलाई मरणोपरान्त सम्मान गरिएको छ। यस्तै बीबीसी नेपाली सेवामा कार्यरत खेल पत्रकार निरन्जन राजवंशीलाई खेल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो। उनले सम्मानस्वरुप २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

 

 त्यसैगरी ओलम्पिक महिला फुटबलका लागि एशियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विशेष सम्मान गरिएको थियो। म्यानमारमा गत कात्तिकमा सम्पन्न पहिलो चरणको एशिया छनोटबाट नेपाली टोलीले दोस्रो चरणको लागि स्थान पक्का गरेको थियो। 

 

 उत्कृष्ट खेलाडीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्वर तिमल्सिना, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, एनएनआइपीएका अध्यक्ष दीपक श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे।

 

प्रतिक्रिया दिनुहोस्