नेतृत्वको आँटले मुहार फेरिँदै सप्तरीको तिलाठी कोईलाडी



राजविराज : सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष सतीशकुमार सिंह उमेरले तन्नेरी हुन् । उनको उत्साह, उमंग र जिज्ञासा पनि उमेरअनुसारकै छन् । तर, यी जम्मै भावमा एउटा गहिरो जिज्ञासा र समस्या समाधानको उपाय अन्वेषण गर्ने सुझबुझ छ । अर्थात् राजनीतिक अनुभव र परिपक्वताको उमेरसँग कुनै सरोकार रहँदैन भन्ने कुराको उदाहरण हुन् उनी । दृष्टि, क्षमता र योजनाबारे प्रस्ट हुँदा र तिनको कार्यान्वयनका लागि इमान्दार प्रयास गरिँदा जस्तोसुकै काम सकिन्छ भन्ने तथ्य पुष्टि गरेका सिंह गाउँपालिका अध्यक्ष भएयता बाढीको समस्या समाधानमा सर्वाधिक क्रियाशील छन् । 

 

उनी अध्यक्ष रहेको गाविसका लागि बर्खा र बाढी वर्षौंदेखिको विकराल समस्याका रूपमा रहँदै आएको छ । उनी अध्यक्ष हुनुअघि आएको बाढीमा यो क्षेत्रको करिब ९० प्रतिशत भूभाग लामो समयसम्म जलमग्न भयो । पूर्वमा कोसी, बीचमा महुली जीता र पश्चिममा खाँडो नदीले टापुमै परिणत गरिदिएको यो ठाउँमा त्यो बेला बाढीकै कारण मृत्यु भएको एक बालकलाई सद्गत गर्ने जमिन पनि उपलब्ध भएन ।

 

 अध्यक्ष सिंह समय र कालको त्यो क्रुर क्षणका एक साक्षी भए बाढीपीडितको उद्धार र राहतका लागि खटिएका एक स्वयंसेवीका रूपमा । त्यतिबेला उद्धार र राहतबाहेक अर्थोक गर्ने अवस्था थिएन । तर, बाढी आउनुको चुरो कारण भने पहिल्याउनैपर्ने थियो । उनले ठम्याए कि खाँडो नदीमा संघीय सरकारको कार्ययोजनाअनुसार बाँध बनाउने कार्य पूरा नभएकाले यो क्षेत्रमा बाढीपानीको समस्या उत्पन्न भएको हो । यसै गाउँपालिकामै पर्ने सकरपुरादेखि भारतीय सीमा कुनौलीसम्मको तीन किलोमिटर दूरीमा बाँध नबनाइएकाले स्थानीय डुबानमा पर्दै आएका थिए । 

 

२०७२ को यस्तो उपद्रवी बाढीको केही वर्षमै उनी गाउँपालिका अध्यक्ष निर्वाचित भए । त्यसपछि उनको एउटै ध्याउन्न रह्यो बाढीबाट बस्ती जोगाउने । ज्यानमालको क्षति न्यून गर्ने । खाँडोसँग जोडिएको सरकारी परियोजनाले बजेट नभएको जनाउ दिएपछि अध्यक्ष सिंहले गाउँपालिकाका दुईवटा ठूला योजनाको रकम एकै ठाउँमा ल्याएर बाँध निर्माणको काम सुरु गराए । करिब एक करोड रुपैयाँ छुट्याइएको बाँध निर्माणका लागि गत आर्थिक वर्षमा ३५ लाख रुपैयाँ खर्च गरिएको छ । 

 

अब तीन किलोमिटरको दूरीमध्ये जम्मा तीनचार सय मिटर बाँध बनाउन बाँकी छ । गत आर्थिक वर्ष फेरि पनि आएको बाढीका कारण लक्षित दूरीमा बाँध बनाउन सकिएन । त्यसपछि लगालग मुद्दा परेकाले अहिले बाँधलाई पूर्णता दिने काम बाधित भएको छ । यद्यपि अध्यक्ष सिंह बाँधको त्यो अपूर्ण भागमा निर्माणकार्य सकाउने कुरामा प्रतिबद्ध छन् ।

 

‘कानुनी र प्राविधिक समस्याहरू आउँछन् । यसले जटिलता पनि निम्त्याउँछन् । तर, जनताको जीवनअस्तित्वसँग जोडिएका सबाल मेरो मूल प्राथमिकताभित्र पर्छन्,’ अध्यक्ष सिंहले द नेपालटपलाई भने, ‘ती सबै समस्या पन्छाएर बाँध निर्माणको काम अघि बढाउँछु ।’ उनका अनुसार बाँध निर्माण भएपछि बाढी प्रभावित बस्ती सुरक्षित हुनेछन् ।

बाँधमा सुरक्षात्मक कार्य गरी हराभरा बनाउने उनको योजना छ । बाँधक्षेत्रको भूउपयोगमा स्थानीयको समेत सहभागिता गराउने अध्यक्ष सिंहले बताए । उनले भने, ‘यसले बाँधप्रति स्थानीयमा अपनत्व र स्वामित्वको बोध हुन्छ । जसले बाँधको सुरक्षा स्थानीयको समेत जिम्मेवारीभित्र आउनेछ ।’

यो गाउँपालिकाले विपत्सम्बन्धी ऐननियम बनाएर नेपालमै पहिलोपटक विपद् कोष स्थापना गरेको छ । कोषमा अहिले २५ लाख रुपैयाँ छ । कोषको रकमबाट अग्नि र बाढी पीडित, सर्पदंशजस्ता घटना तथा शीतलहर प्रभावित आदि विपद्का शिकार भएकाहरूलाई उद्धार तथा राहत कार्यमा उपयोग गरिने अध्यक्ष सिंहको भनाइ छ । 

सिंह अध्यक्ष बन्नुअघि गाउँका विद्यालयमा शिक्षक बस्दैनथे । जसले गर्दा पठनपाठन अस्तव्यस्त थियो । शिक्षकको हेलचेक्रयाइँका कारण विद्यार्थीको सिकाइस्तर पनि कमजोर थियो । त्यसपछि अध्यक्ष सिंहले विद्यालयको निर्धारित समयमा शिक्षकको अनिवार्य उपस्थिति र सिकाइ प्रक्रिया पूरा भएको वा नभएको जाँच गर्ने प्रणाली विकासमा ध्यान दिए । ‘प्रत्येक शिक्षकलाई डायरी दिइयो ।

 

कक्षामा उनले पाठ्यक्रमअनुसार पढाएका कुरालाई दैनिक उल्लेख गर्नुपर्ने भयो । जसमा विद्यालयका प्रधानाध्यापक र कक्षाका ‘मोनिटर’ ले अनिवार्य रुजु गरेको हुनुपर्ने बनाइयो,’ अध्यक्ष सिंह सम्झन्छन्, ‘यसले गर्दा पठनपाठनप्रति शिक्षक र विद्यार्थी दुवैमा एक खालको गम्भीरता वृद्धि भयो । गलत गर्नेहरूका बारेमा सही जानकारी संकलन हुने पद्धति बस्यो । जसबाट हिजोआज हामीले सटीक ढंगले अनुगमन गर्न सकिरहेका छौं ।’

शैक्षिकक्षेत्र सुधारका यी प्रयत्नका कारण यो गाउँपालिका शतप्रतिशत विद्यालय जाने उमेरका बालबालिका विद्यालय भर्ना भएको स्थानीय तह भएको छ । ड्रपआउट नियन्त्रण गर्न गाउँपालिका कार्यालयदेखि वडा कार्यालयसम्म सूचना र पैरवीको सञ्जाल स्थापना गरियो । जसले विद्यार्थीको ड्रपआउट हुने कारणको पहिचान र न्यूनीकरणमा मद्दत गरिरहेको छ । 

विद्यार्थीलाई दत्तचित्त भएर पढ्न र अपेक्षित सफलता प्राप्त गर्नका लागि प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिका कार्यालयले आफ्नो क्षेत्रभित्रका सबै विद्यालयमा एसइईमा पहिलो स्थान हासिल गर्दा एक–एकजना गरी छात्रछात्रालाई यो वर्ष साइकल र गाउँपालिकास्तरमा पहिलो हुनेलाई ल्यापटप दिएको छ । अबका वर्षमा विद्यालय र गाउँपालिमस्तरमा पहिलो हुनेलाई साबिककै पुरस्कार यथावत राखी नयाँ कार्यक्रमका रूपमा जिल्ला तहमा पहिलो भए एक लाख र प्रदेश तहमा प्रथम भए दुई लाख रुपैयाँ दिइनेछ । 

 

राष्ट्रियस्तरमा पहिलो हुनेलाई तीन लाख रुपैयाँ दिइनेछ । तर, राष्ट्रियस्तरको प्रतिस्पर्धा अत्यन्त महत्वपूर्ण र व्यापक हुँदा  एकदेखि दस स्थानसम्म ल्याउने विद्यार्थीलाई नै तीन लाख रकम दिइनुपर्ने गाउँलेहरूको भनाइ छ । ‘स्थानीयको यो भनाइप्रति म निकै सकारात्मक छु । पहिलेको व्यवस्था संशोधन गरी राष्ट्रियस्तरमा एकदेखि दस स्थानसम्म अटाउने गाउँपालिकाका छात्रलाई निश्चित रकमले प्रोत्साहित गरिने प्रयासमा जुट्नेछु,’ अध्यक्ष सिंहले भने । 

 

अन्य ठाउँझैं यो गाउँपालिकाका उल्लेख्य संख्यामा युवा पनि रोजगारका लागि विदेशिएका छन् । गाउँमा देखिने अनुहार भनेको वृद्धवृद्धा र बालबालिकाको छ । तीमध्ये सामान्यतया हेरचाहको बढी आवश्यकता हुने वृद्धवृद्धा र पूर्ण अपांगता भएकालाई लक्षित गरी घरदैलो स्वास्थ्य कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । 

 

प्रत्येक महिनामा गरिने यो कार्यक्रमअन्तर्गत सामान्य स्वास्थ्य जाँच र पिसाब जाँचबाट प्रोटिन, सुगर र किडनीको अवस्था पहिचान गरी सामान्य समस्या भए तत्काल उपचार र जटिलता देखिए उपयुक्त स्वास्थ्य संस्थामा रिफर गर्ने कार्य भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्